१६ वर्षअघि प्रेमीले हत्या गरेर सिमेन्टको ढलानमा लुकाएको प्रेमीकाको शव भेटियो, प्रेमी पक्राउ
काठमाण्डौं– दक्षिण कोरियामा प्रेमीले हत्या गरी घरको बालकोनीमा सिमेन्टको ढलानभित्र लुकाएको शव १६ वर्षपछि फेला परेको छ। हाल ५० वर्ष पुगेका ती ब्यक्तिले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको र उनको शवलाई सिमेन्टको तहमुनि गाडेको स्वीकार गरेका छन्।
शव फेला परेपछि ग्योङ्गनाम प्रान्तीय प्रहरी र गेओजे प्रहरी चौकीको टोलीले मंगलबार ती पुरुषलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ती पुरुषलाई सन् २००८ अक्टोबरमा झगडाका क्रममा प्रेमीकाको हत्या गरेको आरोप लागेको थियो। तर, प्रमाणको अभावमा उनी कारवाहीबाट जोगिएका थिए।
गत महिना घरमा पानी चुहिन थालेपछि चुहावट भएको स्थान खोजी गर्दा एक कामदारले झोला फेला पारेका थिए। झोलाभित्र शव फेला परेको थियो। निरीक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो।
शरीर पूरै हाडखोरमा परिणत नभएकाले औँठा छापमार्फत उनको पहिचान भएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा ती पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले हत्या स्वीकार गरेका थिए। उनले महिलालाई भुत्ते हतियारले प्रहार गरी हत्या गरेको र शवलाई एउटा ठूलो झोलामा पोको पारी बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको तह निर्माण गरेर लुकाएको वताएका छन्।
ती महिला आफ्नै परिवारसँग पनि सम्पर्कमा थिईनन। त्यसैले उनी हराएको ३ वर्षपछि मात्र रिपोर्ट भयो। सन् २०११ मा हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए र प्रमाणको अभावमा मुद्दा अगाडि वढेको थिएन।
