रविसहितको थुनछेक बहस चलिरहँदा प्रतिवादीले ‘यहीँ मर्छु’ भनेपछि इजलासमा सन्नाटा
पोखरा– रास्वपाका सभापति रवि लामिछाने जोडिएको कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पहिलो दिनको थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङले उठेर ‘यही मर्छु’ वहस नै स्थगित गर्नु परेको छ।
न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट बहस चलिरहेको थियो। सुजाता पौडेलले बहस सकेर सहायक न्यायाधिबक्ता शान्तिदेवी शर्माले बहस सुरु गरेकी थिईन। उनले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा ८० वर्षीय कृष्णको पनि नाम आएपछि उनले उठेर ‘यहीँ मर्छु’ भन्दै आँशु झारे।
इजलासमा यस्तो अभिब्यक्ति आएपछि पूर्व सांसद एवम् कृष्णकी छोरी मिना गुरुङलगायत रुन थाले। बहसको माहौल एकाएक बिग्रियो र अवस्था असहज भएर बहस नै स्थगित गरिएको थियो।
मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बयान सकिएर थुनछेक बहस सुरु भएको छ। रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान लिएको हो।
सहकारीको रकम अपचलनको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार ७०५ र सहकारी ठगीतर्फ रु ३ करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।
