लोकसेवाको परिक्षामा ५ पटकभन्दा बढि सहभागी हुन नपाउने गरी व्यवस्था गर्न आयोगको सुझाव
काठमाडौँ – लोकसेवा आयोगले एक ब्यक्तिले ५ पटकसम्म मात्रै लोकसेवाको परिक्षामा सहभागी हुन नपाउने गरी व्यवस्था गर्न सुझाव दिएको छ।
प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा शुक्रबार आयोगका पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन्।
धेरै पटक लोकसेवाको परिक्षामा सहभागी हुन दिँदा व्यक्तिलाई मात्रै नभइ राज्यलाई समेत घाटा भइरहेको दाबी गर्दै अब लोकसेवाको परीक्षामा बढीमा ५ पटक मात्रै सहभागी हुन पाउने गरी कानुन बनाउन आयोगको राय छ।
‘फेल हुने मान्छे ५० पटक परीक्षा दिए पनि फेल नै हुन्छ। पाँच पटक दिँदा पनि फेल भयो भने उसलाई परीक्षामा सहभागी गराइ रहन आवश्यक हुन्न’ आयोगका अध्यक्ष माधव रेग्मीले भने–‘गाउँमा बारी बाँझो छ। त्यहाँ जान उत्पेरित गर्नुपर्छ।’
अधिकतम ६ पटक मात्रै परीक्षामा सहभागी हुन पाइने भारतको ब्यवस्था देखाउँदै उनले नेपालमा ५ पटकको ब्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएका हुन।
आयोगले सेवा प्रवेश पुरुषको हकमा ३२ वर्ष र समावेशीको हकमा ३७ वर्ष उपयुक्त हुने सुझाव दिएको छ। अहिले निजामति सेवा प्रवेशको उमेर हद ३५ र ४० वर्ष छ।

