ढुङ्गागिट्टी अवैद्य रुपमा उत्खनन गरेको विषयमा चौदण्डिगढी नगरपालिकालाई अनुगमन समितिको ९ बुँदे प्रश्न

गाईघाट– उदयपुरको चौदण्डीगढी नगरपालिकाले निजी आवादी जग्गाको आडमा खोलाको ढुङ्गा–गिट्टी उत्खनन् गरी चाईनिज कम्पनीलाई विक्री गरिरहेको खुलासा भएको छ।

चौदण्डीगढी–२ र ४ मा पर्ने माडीवास र लामाखोला क्षेत्रमा अवैध उत्खनन् हुन थालेपछि खोजविनका क्रममा स्थानीय प्रशासन, राजनीतिक दल र नगर कार्यपालिकाकै मिलेमतोको अवैद्य उत्खनन भईरहेको खुलासा भएको हो। स्थानीयका अनुसार उत्खनन भईरहेको ठाउँ खोला र वन क्षेत्र हो।

नगरपालिकाले पूर्वपश्चिम राजर्माग निर्माण गरिरहेको चाइनिज कम्पनी साङ्गे छोयलिङ कन्ट्रक्सन प्रालि चौदण्डीगढी–७ लाई १ लाख घनमिटर गिट्टी उपलब्ध गराउन उनुमती दिने निर्णय गरेको पाईएको छ।

यो अनुमति चालु आर्थिक वर्षको असोजमा ढुङ्गा गिट्टी बालुवा उत्खननका लागि ठेक्का लागेभन्दा फाल्टै हो। चालु आर्थिक वर्षमा ढुङ्गा गिट्टी बालुवाको उत्खनन् तथा व्यवस्थापन गर्नका लागि गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) बाहेक नै अहिले उत्खनन् भइरहेको स्थानीयले बताएका छन्।

यो उत्खननका लागि निजी नम्बरी आवादीको आड लिईएको पाईएको छ। नगर कार्यपालिकाको ७ वैशाख ०८२ को वैठकले निजी आवादीको राजश्व लिएर गिट्टी उत्खननको अनुमति दिने निर्णय गरेको पाईएको छ। सोही दिन हतार–हतार साङ्गे छोयलिङ कन्ट्रक्सन प्रालिबाट राजस्व प्राप्त भएको भन्दै उत्खनन गर्ने अनुमतिको पत्र समेत दिईएको छ।

चौदण्डीगढी–४, बरपानीमा अहिले पनि २ वटा एक्स्काभेटर प्रयोग गरेर उत्खनन् भईरहेको स्थानीयले वताएका छन्। १० चक्के टिपरमा दैनिक १ सय टिप भन्दा बढि ढुङ्गा/गिट्टी लाने गरिएको उनीहरुले वताए।

नदीजन्य पैदावार उत्खननमा मापदण्डको पनि ख्याल नगरिएको पाईएको छ। ‘९० सेन्टिमिटर खन्नु पर्नेमा स्काभेटर प्रयोग गरेर ५ फिट सम्म खनिएको छ’ स्थानियहरु भन्छन्–‘वन क्षेत्रमा यसरी मापदण्ड विपरीत उत्खनन गर्दा स्थानीयले अवरोध गर्ने आशंकाले नगर प्रहरी नै तैनाथ गरिएको छ।’

ठेकेदार कम्पनीका प्रतिनिधिहरुले भने नगरपालिकाले अनुमति दिएकाले नगरपालिकाले नै पत्र नलेखेसम्म उत्खनन नरोकिने वताएका छन्। त्यसपछि गत शुक्रबार अवैध उत्खनन् रोक्न माग गर्दै स्थानीयवासीले उदयपुरका सीडीओ प्रेमप्रसाद लुँईटेललाई ज्ञापन पत्रसमेत बुझाएका छन्।

अवैद्य उत्खननले करिव ७० घरधुरी रहेको एउटा सिङ्गो गाउँ नै संकटमा परेको उनीहरुको गुनासो छ। यस विषयमा जानकारी लिन चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामालाई सम्पर्क गर्दा उनलाई कार्यालयले उपलब्ध गराएको ९८५२८३५१६६ को नम्बर उठेन। प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले भने अवैद्य उत्खननको गुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख, सीडीओ लगायतको अनुगमन समितिले शुक्रबार स्थलगत अनुगमन गरेको जानकारी दिए।

अनुगमन समितिले ९ वुँदे प्रश्नसहित तत्काललाई उत्खनन रोक्न निर्देशन दिएको र नगरपाकिलाले प्रश्नको उत्तरसमेत पठाईसकेको जानकारी दिदै वैद्य/अवैद्य भन्ने कुरा अव अनुगमन समितिले नै निर्धारण गर्ने वताए।

राईका अनुसार नगर कार्यपालिकाले प्रदेश कानुनलाई टेकेर ढुङ्गागिट्टी उत्खननको अनुमती दिएको हो। उक्त कानुन अनुसार आईईई (प्रारम्भिक वातावरणीय परीक्षण) स्विकृत गरी नगर कार्यपालिकाले आवादी जग्गामा उत्खनन अनुमति दिन सक्छ।

राईका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण र संक्षिप्त वातावरणिय अध्यपन स्विकृत गर्ने अधिकार नगर कार्यपालिकालाई दिईएको छ भने वातावरण प्रभाव मूल्यांकन (इआईए) स्विकृत गर्ने अधिकार प्रदेशलाई छ।

चौदण्डिगढी नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण स्विकृत गरी ५/६ जनाको आवादी जग्गामा उत्खनन गर्ने अनुमति दिएको प्रशासकीय अधिकृत राईले बताए। आवादी जग्गाभन्दा वाहिर गएर उत्खनन् गरिएको विषयमा भने आफुलाई जानकारी नभएको र स्थलगत अध्ययन पनि नगरेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट