सप्तरी कृष्णजन्माष्टमीको रथयात्रामा सुनको सिक्री चोरी गर्ने युवक बाराबाट पक्राउ
राजविराज– सप्तरीको राजविराजमा कृष्ण जन्माष्टमीका अवसरमा निकालिएको रथयात्राका क्रममा २६.२४० ग्राम तौलको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले बाराबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोलका २५ वर्षीय निरज कुमार राय छन्।
प्रहरीले उनलाई भदौ २९ गते पक्राउ गरी सप्तरी ल्याएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भदौ २० गते कृष्ण जन्माष्टमीका अवसरमा राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको थियो। नगर परिक्रमा गरिएको उक्त रथयात्रामा सहभागी राजविराज नगरपालिका–१ का करिब ३५ वर्षीय रोकी झाले लगाएको सुनको सिक्री सोही क्रममा चोरी भएको थियो।
सिक्री चोरी भएपछि फरार रहेका रायको खोजी गर्ने क्रममा प्रहरीले बारागढी गाउँपालिका–३ सिपुरा टोलमा फेला पारी पक्राउ गरेको जनाएको छ। उनलाई कानुनबमोजिम पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रायविरुद्ध रोकी झाले चोरीसम्बन्धी जाहेरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। सप्तरी जिल्ला अदालतबाट भदौ २९ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थपसमेत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका रायमाथि लागेको आरोप पुष्टि भइनसकेको र अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट घटनाको टुंगो लाग्नेछ।

