सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

राजविराज– सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मंगलबार साँझ मलंगवा–नवलपुर सडकखण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र भारतीय नम्बर प्लेट बिआर३०एपी १२२४ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको हो।

प्रहरीका अनुसार सिर्सियास्थित सडकखण्डमा ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको १२२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा दुवै मोटरसाइकलमा सवार अन्य दुई जना पनि गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट