मुख्यमन्त्रीलाई भेट्दा मोवाईल बोक्न नपाईने, के हो यस्को उदेश्य ?

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफुलाई भेट्न आउने आगन्तुकलाई मोबाइल फोन बोक्न प्रतिवन्ध लगाएका छन्।
सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चितताका लागि भन्दै मुख्यमन्त्री कार्कीले यस्तो निर्णय गरेका हुन। मुख्यमन्त्रीको सचिवालयका अनुसार यो निर्णयसँगै प्रत्येक आगन्तुकले अब मोबाइल फोन कार्यालय बाहिरै राख्नुपर्नेछ।
भेटघाटमा सहभागी हुनेहरूले अव कुनै पनि प्रकारको अडियो वा भिडियो रेकर्डिङ, लाइभ प्रसारण वा फोटो खिच्न पाउने छैनन्। यो कदमको कतिपयले विरोध गरेका छन्। यो निर्णयले लोकतान्त्रिक कार्यशैलीमा पारदर्शिता घटाउने उनीहरुको ब्याख्या छ।
तर, कतिपयले भने यसलाई सकारात्मक रुपमा लिएका छन्। मुख्यमन्त्रीसँग हुने छलफलहरूमा संवेदनशील नीति, रणनीति र निर्णयहरू समावेश हुने भएकाले गोपनीयताका लागि यो निर्णय अति आवश्यक रहेको उनीहरुको तर्क छ।
सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा अहिले यो निर्णयको पक्ष र विपक्षमा तर्कवितर्क भईरहेका छन्।