चौदण्डीका मेयरको सेटिङमा चुरे दोहनः अख्तियारको छानविन, ठेकेदार कम्पनी नविकरण नै नभएको खुलासा

उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सेटिङमा चुरे क्षेत्रमा अवैद्य उत्खनन् र राजश्व छलिको विषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले छानविन सुरु गरेको छ।
चौदण्डीगढी –२ र ४ को सीमामा पर्ने माडीबास र लामाखोलाको बरपानी क्षेत्रबाट अवैद्य रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेको विषय विवादमा परेपछि अख्तियारले छानबिन थालेको हो। यस विषयमा वडा नम्बर ७ का वडाध्यक्ष केशव अधिकारीले नै अख्तियारमा उजुरी गरेको खुलेको छ।
नगरप्रमुख कालुमान लामाको सेटिङमा अवैध उत्खनन भएको भन्दै वडाध्यक्ष अधिकारीले दिएको उजुरीका आधारमा आयोगको इटहरी कार्यालयले गत शुक्रबार उत्खनन क्षेत्रको फिल्ड अनुगमन गरेपछि विस्तृत छानविन गरिरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीका सूचना अधिकारी उपसचिव नीरजकुमार देवले घट्नाको विस्तृत छानबिन हुन जनाएका छन्। वडाध्यक्ष अधिकारीले माडीबास र लामाखोला बरपानी क्षेत्रबाट सार्वजनिक, सरकारी, ऐलानी, निजी जग्गाबाट गिट्टी, बालुवा, माटो, ढुंगा, उत्खनन गरी मेयरको सेटिङमा लाखौँ करछली गरी बिक्री गरेको उजुरी दिएको बताए।
उनले नगरपालिकाले ढुंगा, गिट्टी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (संशोधन २०७९) विपरीत गैरकानुनी रूपमा व्यक्तिको नम्बरी र ऐलानी जग्गा कागजमा देखाएर चुरे वनक्षेत्रमा प्रकृति दोहन गरेपछि उजुरी गर्न बाध्य भएको बताए । चुरे क्षेत्रबाट मापदण्डविपरीत झण्डै एक हजार टिपरभन्दा बढी सामग्री लगिएको बताए।
स्थानीयले विरोध गरेपछि जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले अवैध उत्खनन बन्द गरेको थियो। समितिले कानुनी प्रक्रिया अध्ययन गरेको थियो। अध्ययनका क्रममा उत्खनन अवैध भएको ठहर गरेको जिसस उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्माले बताए।
अनुगमन समितिले अध्ययन गर्दा आइई किर्ते गरेको, खेतीयोग्य जमिन, मानवबस्ती, कुलोलगायतका सार्वजनिक संरचनामा असर पुगेको खुलेको छ। समितिले अवैध उत्खनन भएको विषयमा नगरपालिकासँग ९ बुँदे स्पष्टीकरण सोधेको छ। नगरपालिकाले वनक्षेत्रसँग जोडिएको निजी जग्गाबाट उत्खनन गर्दा नापी कार्यालय र डिभिजन वन कार्यालयसँग समन्वय नगरेको र उत्खनन गर्ने ठेक्का पाएको सांगे छोइलिंग कन्सट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका– ७ को नवीकरण नै नभएको फेला परेको छ।
उत्खननको ठेक्का दिइएको सांगे छोयलिंग कन्स्ट्रक्सन प्रालिका सञ्चालक नीरज घिसिङ चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाका स्वकीयसचिव तथा उनका साख्खै भतिजा हुन। एमालेका स्थानीय नेता समेत रहेका घिसिङलाई मेयरले हालसालै स्वकीय सचिव नियुक्त गरेका हुन।
ठेक्का व्यवस्थापनको जिम्मा अनौपचारिक रूपमा माओवादीका नगर अध्यक्ष दिनेश राईलाई दिएको थियो। उनले नगर क्षेत्रका विरोध गर्ने निर्माण व्यवसायी र स्थानीयलाई मिलाउँदै आएका थिए।
उदयपुरका सीडीओ प्रेमप्रसाद लुइँटेलले उत्खननका कारण लामाखोलामा लगाइएको बाँध भत्काइएको, कुलो पुरिएको र वर्षामा खोला बस्तीमा पस्ने सम्भावना देखिएको बताए। ‘त्यसको व्यवस्थापन गर भनेका छौँ।’ उनले भने।
सर्वोच्च अदालतको आदेश र रोडाढुंगा, गिट्टी तथा बालुवा नियमनसम्बन्धी प्रतिवेदनले चुरे क्षेत्रमा एक्स्काभेटर प्रयोग गर्न निषेध गरेपछि बरपानी क्षेत्रमा २ वटा एक्स्काभेटर प्रयोग गरेर ढुङ्गा, गिटी र बालुवा निकालिएको थियो। यस विषयमा जानकारी लिन खोज्दा मेयर लामा फोन उठाउँदैनन्। उपमेयर मणिकादेवी दुलाल भने माथिल्लो निकायले नै छानबिन थालेकाले गलत भए कारबाही हुने बताउँछिन्।