सगरमाथा बेसक्याम्पमा जीबी राईको चर्चा, गृहमन्त्री र पर्वतारोहीको घोचपेच

राजविराज– सगरमाथा आरोहणको तयारीमा रहेका नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा शनिबार सगरमाथा बेसक्याम्पमा आयोजित एक कार्यक्रममा सहकारी ठगीको आरोप लागेपछि फरार भएका जीबी राईको विषयमा चर्चा चलेको छ।
शर्माले गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेलाई बोलाएर सगरमाथा बेसक्याम्पमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ का विषयमा विशेष संवादको आयोजना गरेका थिए।
३१ पटक सगरमाथा आरोहण गरेका किर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतको पनि कार्यक्रममा उपस्थिती थियो। यही कार्यक्रममा प्रसंगबस आरोही मिङ्मा शेर्पाले नेपालमा सहकारीको अर्बौँ रकम सहकारी ठगेर भागेका गितेन्द्रबाबु राई(जिबी)बारे कुरा उठाए।
उनले हिमाल आरोहण क्षेत्रका समस्याका विषयमा कुरा राखेपछि सरकारी निकायको वेवास्ताको उदाहरण दिन उठाएको जीबीको प्रसंगले घोचपेचकै काम गर्यो। ‘हुन त यो राजनीति यसरी नै चल्दो रहेछ। गृहमन्त्री जी गृहमन्त्री हुनुभन्दा अगाडि जिबी राई खै भन्नुहुन्थ्यो उहाँले नै। अब अहिले जिबी खै कहाँ हुनुहुन्छ? उहाँलाई नै थाहा छैन। यसरी नै चल्ने रहेछ।’ उनले भने।
अनौपचारिक शैलीमा चलिरहेको उक्त संवादका क्रममा मिङ्माको उक्त बोलीपछि हाँसोको फोहरा छुट्यो। त्यसपछि क्रमशः अरू सरोकारवाला, पर्यटन मन्त्री पाण्डे, गृह मन्त्री लेखकले आ–आफ्ना कुरा राखे। तर, गृहमन्त्री लेखकले जिबीको प्रसंग कोट्याएनन्।
बरु औपचारिक कार्यक्रम सकिएपछि मिङ्मालाई बोलाएर भने –‘तपाई के रे जिबी राई खोइ भनेर भन्नुहुन्थ्यो। मैले भन्या छैन है। त्यो बेलाका मन्त्रीहरूले जिबी राई खोज्छौँ भन्या हो यार।’ त्यसपछि फेरी उपस्थित भिडमा हाँसोको फोहरा गुन्जियो।
महामन्त्री शर्माले यो कार्यक्रमको फेसबुक लाईभ गरेका छन्। जसमा यो सवै प्रसंग समेटिएको छ।