बलात्कार आरोपमा पूर्वसभामुख महरालाई कारागार पुर्याउने रोशनीको मृत्यु प्रकरणः यस्तो थियो घट्नास्थल

काठमाडौँ– पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर कारागारसम्म पुर्याएकी ५० वर्षीया रोशनी शाही भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा मृत अवस्थामा फेला परेकी छिन।
बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्दै आएकी शाही आईतबार दिउँसो करिव पौने २ बजे मृत अवस्थामा फेला परेकी हुन। जाजरकोट स्थायी घर भएकी शाही भित्रबाट चुकुल लगाएको कोठाभित्र मृत अवस्थामा फेला परेको भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए।
प्रहरीले ढोका फुटाएर हेर्दा उनी घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन। उनको छेउमा विषको बोतल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको शरीरमा बाहिरी चोटपटक देखिएको छैन।
डेरामा शाहीका दम्पती बस्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार उनका श्रीमान चित्रजंग शाही कामको लिसिलामा विराटनगरमा छन्। छोराछोरी विदेशमा छन। छोराछोरी भेट्न गएका दम्पती केही समयअघि मात्र नेपाल फर्केका थिए।
उनले गत असोज ०७६ मा पूर्वसभामुख महरामाथि बलात्कार प्रयास गरेको आरोप आरोप लगाएपछि नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो। घटना सार्वजनिक भएपछि महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए।
काठमाडौँ जिल्ला अदालतमा मुद्दा पुगेपछि अदालती बयानका क्रममा भने पीडितले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन। तीनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा आफैं उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको उनले जानकारी गराएकी थिईन।
‘म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियामा कसरी समाचार आए, मलाई थाहा छैन। सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन।’– उनले दिएको निवेदनमा भनिएको थियो।
उनको यस्तो वयानपछि अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौँले महरालाई सफाइ दिँदै रिहा गरेको थियो। एकताका रोशनी र चित्रजंगबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति समेत भएको थियो।
चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका थिए। सहमति पत्रमा दुवैको हस्ताक्षर थियो।