डीभी परेका नेपाली पनि अमेरिकाबाट देश निकाला, चार्टर्ड विमानमार्फत डिपोर्ट

काठमाडौँ– संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट भएर आइतबार राति ३७ जना नेपाली नागरिक चार्टर्ड विमानमार्फत काठमाडौं फर्किएका छन्। उनीहरूमध्ये एक जना १० वर्षअघि डीभी परेर अमेरिका गएका व्यक्ति समेत छन्।
टेक्सास राज्यमा बस्दै आएका ती व्यक्तिलाई पारिवारिक विवादका कारण प्रहरीले पक्राउ गरेर देश निकाला गरेको हो।
अमेरिकाको एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेशनलको विमानमार्फत ढाका हुँदै नेपाल ल्याइएका ती ३२ पुरुष र ५ महिला नेपाली नागरिकसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै मानव बेचबिखन अनुसन्धान ब्यूरो र अध्यागमन विभागको टोलीले प्रारम्भिक बयान लिएको थियो।
ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, उनीहरूसँग अवैध आप्रवासनमा संलग्न दलाल तथा मानव तस्करबारे जानकारी लिन खोजिएको थियो। प्राप्त सूचनाको आधारमा आवश्यक परे उनीहरूलाई फेरि पनि बोलाएर सोधपुछ गर्न सकिनेछ।
तर, विगतका घटनाक्रमले डिपोर्ट भएर फर्किएकाहरूबाट सहयोग प्राप्त हुने सम्भावना न्यून देखिएको छ। उनीहरूलाई पठाउने व्यक्तिहरू गाउँघरकै चिनजानका हुने भएकाले उजुरी गर्न चाहँदैनन्।
यसअघि २१ फागुन २०८१ मा चार्टर्ड विमानमार्फत फर्काइएका आठ नेपाली नागरिकले पनि आफूहरूलाई अमेरिका पु¥याउने व्यक्तिको नाम खुलाउन मानेका थिएनन्। उनीहरूले प्रहरीसँग कुनै पनि किसिमको सम्पर्क राख्न अस्वीकार गरेका थिए।
प्रहरीका अनुसार, ती आठ नेपाली करिब ६ महिना अगाडि मात्रै अवैध बाटो हुँदै अमेरिका पुगेका थिए। उनीहरूले ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्व, युरोप र दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका प्रवेश गरेका थिए। जंगल, खोला र समुद्र पार गर्दै महिनौँको जोखिमपूर्ण यात्रा गरे पनि अमेरिका पुग्नासाथ पक्राउ परेका थिए।
डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि अमेरिकाले अवैध आप्रवासीप्रति कडा नीति अख्तियार गरेको छ। नेपाली नागरिकहरू पनि यसको चपेटामा परेका छन्। अध्यागमन विभागका अनुसार, २०२५ को जनवरीदेखि मे महिनासम्म १४० जना नेपाली नागरिक अमेरिकाबाट निष्कासित भएका छन्।
अध्यागमनको तथ्याङ्कअनुसार, जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ। विगतका वर्षहरूमा पनि यस्ता घटना भइरहेका थिए। सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको रेकर्ड छ।