मनसुन भित्रिए पनि निष्क्रियः चर्को गर्मीबाट भोलिदेखि मात्र राहतको आशा

काठमाडौँ– नेपालमा यस वर्ष सरदर मितिभन्दा १५ दिनअघि जेठ १६ गते नै मनसुन प्रवेश ग¥यो, तर सक्रिय नहुँदा कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकेको छैन। मनसुनी प्रणाली निष्क्रिय हुँदा देशभर गर्मी चर्किएको छ, वर्षा नहुँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।
मौसमविद्हरूले भने अबको एक–दुई दिनभित्रै सुधारको संकेत देखिने बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायु सक्रिय हुन नसक्नुको कारण बंगालको खाडीबाट आउने वायु पूर्वी एसियाको फिलिपिन्स र ताइवानतिर तानिनु हो। त्यसै कारण नेपालतर्फ अपेक्षित मात्रामा जलवाष्पयुक्त हावा आउन सकेको छैन। पश्चिमी वायु अझै बलियो रहेकाले मध्य र पश्चिम नेपालमा मनसुनको प्रभाव देखिन बाँकी छ।
मौसमविद् गोविन्द झाले बताएअनुसार अब बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली, भारतको मध्य भूभागमा निर्माण भएको प्रणाली, र पूर्वी एसियातर्फ मोडिएको वायुको आंशिक प्रभाव नेपालतर्फ फर्किन थालेको छ। त्यसको असर भोलि–पर्सिदेखि देखिने अनुमान गरिएको छ। उनका अनुसार लगातार झरी नभए पनि बेलाबेला पानी पर्ने सम्भावना बलियो छ।
आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का र एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। मौसमविद्हरूका अनुसार अबका केही दिन मनसुन विस्तारै सक्रिय हुँदै जानेछ।
नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिन्छ र अक्टोबर २ मा बाहिरिन्छ। तर, पछिल्ला केही वर्षयता यो मिति तलमाथि हुँदै आएको छ। गत वर्ष मनसुन जेठ ३१ गते भित्रिएको थियो भने यो वर्ष जेठ १६ गते नै सुरु भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी गर्मी र वर्षाको पूर्वानुमान गरेको छ।
मौसम वैज्ञानिकहरूका अनुसार मनसुन सक्रिय हुने बित्तिकै बाढी, पहिरो र डुबानको जोखिम पनि बढ्ने भएकाले सतर्क रहनुपर्ने चेतावनी दिएका छन्। जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगहरूमा समेत सरदरभन्दा बढी वर्षा र गर्मी हुने संकेत देखिनुले वातावरणीय संकट गहिरिने खतरा बढेको विज्ञहरूको निष्कर्ष छ।
– साँचो खबर, सिधा असर । शीर्ष खबर