रौतहटमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते

रौतहट — रौतहटको गरुडा–कटहरिया सडकखण्डमा गएराति रोकिराखिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन।
दुर्घटना कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साहको मृत्यु भएको हो। उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षीय राजन ठाकुर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
सोमबार राति करिब १० बजे दुधीयाभार चोक नजिकै सडकमै विग्रिएको इँटा लोड गरेको ना ६ त ८१०६ नम्बरको ट्याक्टरमा गरुडाबाट भसेडवा जाँदै गरेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर संजय साहलाई अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरे। घाइते ठाकुरको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।