मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचारको आरोपमा पक्राउ

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ।
पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका कुशवाहा मधेश प्रदेशको महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित भएका थिए। अख्तियारले केही दिनअघि (जेठ १२ गते) उनको घरमा छापा मारी विभिन्न विकास योजनाका कागजात बरामद गरेको थियो।
सोही दिन उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए। अनुसन्धानको क्रममा संलग्नता भेटिएपछि अख्तियारले बुधबार काठमाडौंको अनामनगरबाट सांसद कुशवाहालाई पक्राउ गरेको हो।
सांसद सिंहमाथि प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। उनीमाथि उपभोक्ता समितिको नाममा खाता खोलाई त्यसमा जम्मा गराइएको पैसा सचिवमार्फत झिकेर आफ्नै र आफ्नी श्रीमतीको खातामा राखेको आरोप छ।
अख्तियारका अनुसार कुशवाहाले आफू नजिकका व्यक्तिहरूको नाममा उपभोक्ता समिति गठन गरी रकम निकासा गराएका थिए। अनुसन्धानको क्रममा उनीसँग सम्बन्धित विद्युतीय उपकरणहरू पनि अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ।
यसअघि स्वकीय सचिव कायस्थ पक्राउ परेपछि कुशवाहाले अनुसन्धानमा आफूले सहयोग गर्ने बताएका थिए। तर, अख्तियारले संकलन गरेको प्रमाणका आधारमा उनीमाथि प्रत्यक्ष संलग्नता देखिएपछि पक्राउ गर्नुपरेको आयोगको भनाइ छ।