तिलाठीमा नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

राजविराज – सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सव–इन्जिनियर (प्राविधिक सहायक) दिपेन्द्र कुमार झा भनिने दिपेन्द्र कुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको र त्यस मार्फत लाभ र सुविधा लिएर भ्रष्टाचार गरेको आरोपसहित आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार झाविरुद्ध उजुरी परेपछि अनुसन्धान गर्दा उनले पेश गरेको डिप्लोमा इन सिभिल इन्जिनियरिङ र अन्य शैक्षिक प्रमाणपत्रहरू नक्कली रहेको प्रमाणित भएको छ। उनले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लमाचौर, पोखराबाट डिप्लोमा गरेको भनी कागजात पेश गरेका थिए।

आयोगका अनुसार उनले चारित्रिक प्रमाणपत्रसमेत नक्कली बनाएका थिए। प्रमाणपत्र प्रमाणीकरणका लागि विश्वविद्यालयमा सोधपुछ गर्दा कागजातहरू झूटा रहेको पुष्टि भएको हो।

नक्कली कागजातमार्फत करारमा नियुक्ति लिई लाभ लिएको र सरकारी ओहोदाको दुरुपयोग गरेको भन्दै आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कैद र जरिवाना सजाय मागदाबी गरी मुद्दा दायर गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट