१० दिन कैद बस्न कारागारमा रहेका व्यवसायीको २ दिनमै शंकास्पद मृत्यु, यातना दिएर हत्या गरिएको परिवारको दाबी

कामठाडौँ– कैलाली जिल्ला कारागारमा बैंकिङ कसुरमा थुनामा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको शंकास्पद मृत्यु भएको छ। अदालतले पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

यस्तो छोटो अवधिको सजाय भुक्तान गर्न कारागारमा पठाइएका पालीको रहस्यमय मृत्यु भएपछि परिवारले कारागारभित्रै यातना दिइ हत्या गरिएको दाबी गरेका छन्। पालीलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरी कैलाली जिल्ला कारागार चलान गरेको थियो।

पक्राउ परेको दुई दिनपछि, असार २ गते राति साढे १० बजे पाली कारागारभित्र बेहोस अवस्थामा फेला परेका थिए। जेल प्रशासनले उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पु¥याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ।

कारागार प्रशासनले पालीलाई अस्पताल पु¥याउँदा उच्च ज्वरो आएको र रक्तचाप निकै कम रहेको दाबी गरेको छ। तर मृतकको शव परीक्षण गर्दा शरीरका विभिन्न भागमा चोटपटक र नीलडाम भेटिएको पाइएको छ।

मृतकका काका पदम सिंह पालीका अनुसार, उनको नेपाल प्रहरीका सई हरिजित नाथसँग पुरानो आर्थिक विवाद थियो। पक्राउपछि पनि नाथले पालिसँग रकम मागिरहेकै थिए र मृत्यु हुनु केही घण्टा अघिमात्र मृतक पालीले नाथकै खातामा ८५ हजार रुपैयाँ पठाएका थिए।

आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुमा देखाइने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको घटनाले परिवारमा अझै गहिरो शंका पैदा गराएको छ। मृतकका आफन्त र परिवारले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेका छन्। उनीहरूले कारागारभित्रै पालीलाई यातना दिइ हत्या गरिएको आरोप लगाएका छन्।

‘१० दिन कैद सजाय पाएका मान्छे दुई दिनमै मृत अवस्थामा भेटिनु संयोग मात्र हुन सक्दैन,’– मृतकका भाइ हिक्मत सिंह पालीले भने। घटना रहस्यमय भएको भन्दै सत्यतथ्य छानबिन र दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न उनले माग गरेका छन्।

मृतकका परिवारले न्याय सुनिश्चित नभएसम्म शव नउठाउने अडान लिएका छन्। साथै, परिवार प्रहरी अधिकारीहरूमाथि अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा रहेको बताएका छन्। मृतक पालीका एक श्रीमती र एक छोरा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट