उदयपुरको चौदण्डीमा २ सय मिटरको फरकमा भेटियो युवक र किशोरी शवः घटना रहस्यमय

गाईघाट — उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा आज बिहान एक युवक र एक किशोरी मृत अवस्थामा फेला परेका छन्।
अमलचौरीका २८ वर्षीय रविन राई र १४ वर्षीया किशोरी मञ्जु राई मृत अवस्थामा भेटिएका हुन्। मन्जुको शव गाउँको बाटोमा लडिरहेको अवस्थामा फेला परेको थियो भने त्यसको करिब दुई सय मिटर टाढा रविन राईको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।
इलाका प्रहरी कार्यालय बेल्टारका इन्सपेक्टर बबिन राईका अनुसार स्थानीयले बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार शव पोष्टमार्टमका लागि पठाउने र कानुनी प्रक्रिया अघि बढाइएको छ।
‘घटना कसरी घट्यो, के कारणले घट्यो भन्नेबारे हाल अनुसन्धान सुरु भइसकेको छ,’ डिएसपी दोङले बताए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।