निरीह सप्तरी प्रहरीः ठूला तस्कर खुलेआम, ५–१० रुपैयाँका ‘भुरा माछा’ खोज्दै काम देखाउँदै

राजविराज– सप्तरी प्रहरीले हालै पक्राउ गरेका हनुमाननगर कंकालिनी नगरपालिका–१ का ३५ वर्षीय जोगानन्द मण्डल उर्फ ‘बुधन’ लागू औषध तस्करीका पटके अभियुक्त रहेको खुलेको छ। पटक–पटक लागू औषध तस्करीमा मुछिँदै आएका मण्डल साढे दुई वर्षअघि ठूलो परिमाणमा गाँजा तस्करीको अभियोगमा फरार थिए।

१ असाको राति करिव ९ बजे इलाका प्रहरी कार्यालय भारदह अगाडिको ट्राफिक चेकिङमा पक्राउ परेका मण्डल १४ पुस ०७९ मा ८ क्विन्टल भन्दा बढी गाँजा बरामद प्रकरणका फरार प्रतिवादी हुन्। त्यसबेला हनुमाननगर कंकालिनी नगरपालिका–१, कोशी ब्यारेज नजिकैको टापुमा बालुवामा लुकाइएका २७ बोरा (८१० किलोग्राम) गाँजा बरामद भएको थियो। यो प्रकरणमा मुख्य अभियुक्त मानिएका मण्डल फरार भए।

तर, मण्डलको तस्करी संलग्नता केवल त्यतिमा सीमित थिएन। स्रोतका अनुसार उनी ब्राउन सुगरको पनि कारोबारमा संलग्न थिए। एक वर्षअघि (१८ वैशाख ०८१) हनुमाननगर कंकालिनी नगरपालिका–१ मा प्रहरीद्वारा पक्राउ परेका घनश्याम मुखियाको साथबाट बरामद ब्राउन सुगर प्रकरणमा मण्डलसमेत प्रतिवादी थिए।

प्रहरीकै प्रतिवेदनका आधारमा जिल्ला अदालत सप्तरीमा मुद्दा दायर भए पनि उनी त्यसबेला पक्राउ परे/नपरेको र मुद्दाको अन्तिम स्थिति अझै प्रस्ट भइसकेको छैन। यदि उनी पक्राउ परेका थिए भने कसरी सजिलै छुटे? र अहिले पुनः पक्राउ गर्नु पर्ने अवस्था आयो भन्ने गम्भीर प्रश्न उब्जिएको छ।

अर्कोतर्फ, पक्राउ परेका थिएनन भने यति लामो समयसम्म उनलाई कसरी खुला छाडियो र अहिले कसरी, कुन उद्देश्यले पक्राउ गरियो भन्ने अर्को प्रश्न खडा भएको छ। ‘फरार प्रतिवादी भन्दै सामान्य १० रुपैयाँ जरिवाना नवुझाएका वा २–३ दिन कैद भुक्तान गर्न बाँकी रहेका सर्वसाधारणलाई तत्काल पक्राउ गर्दै आफ्नो सक्रियता देखाइरहेको प्रहरी मण्डल जस्ता ‘ठूला माछा’ लाई नियन्त्रण गर्नबाट कसरी चुक्यो ?’ यो विषयमा प्रहरीले जवाफ दिने बेला आएको छ।

स्रोतका अनुसार बुधन मण्डल लागू औषध तस्करीमा संगठित गिरोह सञ्चालन गर्ने मुख्य नाइके हुन्। उनी गाँजा, ब्राउन सुगर लगायत लागुऔषधका आधा दर्जनभन्दा बढी मुद्दामा संलग्न छन्। मण्डलले सेटिङ र मिलेमतोका माध्यमबाट बारम्बार तस्करी गर्दै आएको स्रोतको दावी छ।

ब्राउन सुगर काण्डमा उनी कसरी छुटे र अहिले पुनः पक्राउ गर्नु पर्ने अवस्था आयो ? भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ। सप्तरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले जारी गरेको विज्ञप्तिमा मण्डलसँग सम्वन्धित अन्य मुद्दाको पनि अनुशन्धान भईरहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट