राजविराज नगरपालिकामा विवाद चुलियो: तालाबन्दी, तोडफोड र आक्रमण हुँदै प्रहरीमा पुग्यो उजुरी

राजविराज– राजविराज नगरपालिकामा लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद झनै चुलिएको छ। सरसफाई कर्मचारीहरूको १६ दिनको बाँकी ज्याला भुक्तानीको विषयलाई लिएर सुरु भएको विवाद हाल तालाबन्दी, तोडफोड र कर्मचारीमाथि आक्रमण हुँदै प्रहरी कार्यालयमा उजुरी सम्म पुगेको छ।
कार्यवाहक मेयर इसरत परविनले मंगलबार निलम्बित नगरप्रमुख भीमराज यादव, योजना शाखा प्रमुख मनोज कुमार यादव, सुधीर यादव, गज्जु भनिने गजेन्द्र यादवसहितलाई विपक्षी बनाई उजुरी दिएपछि यो विषय विधिवत रुपमा जिल्ला प्रहरी कार्यालयमा पुगेको छ।
उजुरीमा सार्वजनिक सम्पत्ति विनाश, कार्यालय तोडफोड, शारीरिक आक्रमण र आपराधिक उपद्रवको गम्भीर आरोप लगाएईएको छ। उजुरी अनुसार, १६ दिनको बाँकी ज्यालाको भुक्तानीका लागि सरसफाई कर्मचारीहरूले पटक–पटक आग्रह गर्दा योजना शाखा प्रमुख मनोज यादवले अभद्र व्यवहार गर्दै रकम नदिने अडान लिएपछि विवाद चर्किएको थियो।
कार्यवाहक मेयरले उक्त समस्याको समाधान खोज्दै कर्मचारीहरूलाई आश्वस्त पारे पनि मनोज यादवले रकम भुक्तानीमा असहयोग गरेको भन्दै व्यक्तिगत रिसिबीका कारण विवादलाई उग्र बनाएको उल्लेख छ।
यसैबीचमा निलम्वित मेयर भीमराज यादवले विभिन्न माग राख्दै कार्यालयमा तालावन्दी गरेको र २७ जेठमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा प्रवेश गराउन खोज्दा निलम्बित मेयर र योजना शाखा प्रमुखको मिलेमतोमा कार्यालयमा आक्रमण तथा कर्मचारीमाथि कुटपिट गरिएको उजुरीमा उल्लेख छ।
कार्यालयको ढोका, सिसा, फर्निचरलगायत सरकारी सामग्री तोडफोड गरेको, लेखा अधिकृत शत्रुघनलाल दासमाथि कुटपिट गरी दुई तोलाको सुनको सिक्री लुटपाट गरेको र अन्य कर्मचारीहरूमाथि समेत आक्रमण प्रयास भएको उजुरीमा आरोप लगाईएको छ।
कार्यवाहक मेयर परविनले दोषीलाई हदैसम्मको सजाय र क्षतिपूर्ति भराउन माग गरेकी छन्। उक्त उजुरी प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोग लगायत सरोकारवाला निकायहरूमा समेत बोधार्थ पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले यस विषयमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।