सर्लाहीमा बाटोको विवादले गोली चल्यो, प्रहरी इन्स्पेक्टरसहित चार जना घाइते

सर्लाही — सर्लाहीको बरहथवामा शनिबार बिहान बाटो विस्तारको विषयमा उत्पन्न विवादले झडपको रूप लिँदा प्रहरीले हवाई फायर गरेको छ। झडपमा इलाका प्रहरी कार्यालय, बरहथवामा कार्यरत इन्स्पेक्टर दिवाकर गणेशसहित ४ जना घाइते छन्।

प्रहरीका अनुसार घटना बरहथवा नगरपालिका–४, खैराटोलमा भएको हो। त्यहाँ सडक ढलानको क्रममा स्थानीय दुई पक्षबीच विवाद चर्किएको थियो। एक पक्षले आफ्नै निजी जग्गा माथि सडक ढलान गर्न खोजेको भन्दै विरोध जनाएपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जानकारी दिएको छ।

विवाद चर्किँदै जाँदा स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको एसपी योगेन्द्र कुमार खडकाले बताए। ‘स्थिति नियन्त्रण गर्न प्रहरीले बाध्य भएर हवाई फायर गर्नु परेको हो,’ उनले भने, ‘झडप नियन्त्रणमा लिईएको छ र अहिले अवस्था सामान्य छ।’

झडपमा घाइते भएका इन्स्पेक्टर दिवाकर झडप रोक्न र स्थिति नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका बेला घाइते भएका थिए। अन्य तीन जना स्थानीय बासिन्दा पनि झडपमा परी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

यसअघि पनि सोही स्थानमा बाटो विस्तारको क्रममा विवाद उत्पन्न भएको थियो। सडक निर्माणको क्रममा केही महिला तथा पुरुषले एक महिलालाई लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यही विवाद अहिले पुनः झडपमा परिवर्तन भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट