मोरङमा पाँच वर्षीया बालिकाको हत्या प्रकरणः काका पक्राउ, बलात्कारपछि हत्या भएको आशंका

विराटनगर– मोरङको धनपालथान गाउँपालिका–५, बबियामा शनिबार बिहान ५ वर्षीया बालिका मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले मृतकका काका अनिश सरदारलाई पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। उनी शुक्रबार राति हजुरआमा र काकासँग सुतेकी थिइन्। बिहान करिब ३ बजे हजुरआमाले नातिनी बेपत्ता भएको थाहा पाएपछि हल्ला सुरु भएको थियो।

गाउँभर बच्चा चोरी भएको हल्ला फैलियो। छरछिमेक जुटेर खोजी गर्दा बिहान साढे ४ बजे घरदेखि करिब १५० मिटर टाढा दुर्गा आधारभूत विद्यालयअगाडि सडक छेउमा बालिकाको शव फेला परेको थियो।

मोरङ प्रहरीका डीएसपी कोपिला चुडालका अनुसार बालिकाका बुबा अक्षय सरदार घर बनाउने मिस्त्री हुन। उनकी श्रीमती पनि सँगै मजदुरी गर्छिन। शुक्रबार अक्षय सालोसँग भारतको कटिहार गएका थिए भने आमा माइतीघर गएकी थिइन्।

आत्तिकासहित उनीहरुका दुई छोरी र एक छोरा नजिकै रहेको हजुरआमाको घरमा थिए। आत्तिका अक्षयकी माईली छोरी हुन। अक्षयका कान्छा भाइ अनिश आमासँगै बस्छन्। यसअघि पनि आफुहरु घरमा नहुँदा अक्षयले छोराछोरी आमासँगै छोड्ने गरेका थिए। आत्तिका शुक्रबार काका अनिशसँगै सुतेकी थिईन।

उनले नै बालिकाको बलात्कार गरी हत्या गरेको आशंका गरिएको छ। उनले शुक्रबार साँझ मदिरा पनि सेवन गरेको खुलेको छ। ‘शव भेटिएको स्थान हेर्दा त्यहाँ हत्या नभएको देखिन्छ। हत्यापछि शव बोकेर फालिएको जस्तो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘अरू कसैको गतिविधि पनि देखिँदैन, बलात्कारपछि हत्या भएको हुनसक्छ। पोष्टमार्टम रिपोर्टपछि पुष्टि हुनेछ।’

घटना शंकास्पद देखिएपछि मृतकका काकालाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ। अनिशले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। तर, प्रहरीका अनुसार उनले घटनाको अघिल्लो रात मदिरा सेवन गरेको स्वीकार गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट