सिरहामा सांसदका ‘मामा शिक्षक’को यौन दुर्व्यबहारबाट छात्राहरु आजित, अभिभावक र विद्यार्थीको प्रदर्शन

लहान — सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वास्थित जनता नमूना माध्यमिक विद्यालयका शिक्षक हरि श्रेष्ठमाथि आफनै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। शिक्षक श्रेष्ठ नेकपा एमालेको स्थायी समिति सदस्य एवम् सांसद लीलानाथ श्रेष्ठका नातेदार (नाताका मामा) हुन।
यौन दुव्र्यवहारको घट्नाले कतिपय विद्यार्थी र अभिभावकले विद्यालयमा पटकपटक गुनासो गरेका थिए। तर, सुनुवाई नभएपछि आक्रोशित स्थानीय अभिभावकले सोमबार विद्यालयमै पुगेर प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा विद्यालयमा ढुंगामुढासमेत भएको थियो।
शिक्षक श्रेष्ठले अश्लील कुरा गर्ने, गोप्य अंग छुने, वहाना बनाएर जिउमा हात लगाउते लगायतका ब्यवहार धेरै पटक गरेको छात्राहरुको आरोप छ। ‘हामीले लाज र डरले कुरा वाहिर लान सकेनौं, तर उनको चालचलनका विषयमा विद्यालयमा भने पटक पटक गुनासो गरेका छौं’– उनीहरुले भने।
अभिभावकका अनुसार शिक्षक श्रेष्ठले सवैभन्दा पहिला केही समय कक्षा ५ मा अध्ययनरत १३ वर्षीया दलित गरेका थिए। उनले विद्यालयकै एक शिक्षिकासमक्ष यसबारे गुनासो गरेकी थिइन्। आइतबार उनकी आमा आफैं विद्यालयमा आएर प्रधानाध्यापक ब्रम्हदेव सिंहसहित अन्य शिक्षक कर्मचारीलाई यसबारे गुनासो गरिन।
त्यसपछि अन्य छात्राले पनि शिक्षकबाट यौन दुव्र्यवहार सहनु परेको भन्दै गुनासो गरेका थिए। श्रेष्ठले लामो समयदेखि आफूहरूमाथि यस्तो व्र्यवहार गर्ने गरेको उनीहरुको आरोप छ। कम्तीमा १० जना भन्दा बढी छात्रा पीडित रहेको बताईएको छ।
सांसद एवम एमालेका नेताको आशिर्वादका कारण शिक्षक श्रेष्ठलाई अहिलेसम्म कुनै कारवाही नभएको स्थानीयहरुको गुनासो छ। सोमबार अभिभावक तथा विद्यार्थीको प्रदर्शनपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।
सिरहाका प्रहरी एसपी अनन्तराम शर्माका अनुसार, यौन दुव्र्यवहारमा परेको भनिएका ४ जना छात्रालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ। घट्नाको थप अनुशन्धान पनि सुरु गरिएको एसपी शर्माले जानकारी दिए। विद्यालयका प्रधानाध्यापक सिंहसँग भने सम्पर्क हुन सकेको छैन।