हेटौंडामा पारिवारिक कलहको विभत्स अन्त्यः भाउजुको हत्या अभियोगमा देवर थुनामा

हेटौंडा — भाउजुको हत्या गरेको अभियोगमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश गीता श्रेष्ठको मंगलबारको इजलासले थाहा नगरपालिका–१ कुन्छालका ३५ वर्षीय विमलमान गोपालीलाई थुनामा राख्न आदेश दिएको हो।
उनीमाथि सोही वडाकी ५० वर्षीया भाउजु तुलुमाया गोपालीको हत्या गरेको गम्भीर आरोप लागेको छ। गत २०८२ असार ५ गते, घरको आँगनमा एक्कासी खुकुरी प्रहार गरेर उनले भाउजुको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी अनुसन्धान अनुसार, मृतक तुलुमायाले देवर विमलमानलाई लगातार लागुऔषध र मदिरा सेवन नगर्न आग्रह गर्दै आएकी थिइन्। सोही विषयमा लामो समयदेखि दुवैबीच मनमुटाव रहेको खुलेको छ। विगत एक वर्षदेखि बोलचाल बन्द भए पनि उनीहरू एउटै घरमा छुट्टाछुट्टै चुल्हो राखी बस्दै आएका थिए।
हत्या भएको दिन तुलुमाया घरको आँगनमा निस्किएको समयमा विमलमानले अचानक खुकुरी प्रहार गरी उनको गर्धनमा चोट पु¥याएका थिए। गम्भीर घाइते तुलुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पालुङले हत्या गर्न प्रयोग गरिएको खुकुरीसहित विमलमानलाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि मुद्दा जिल्ला अदालतमा पेश गरिएपछि न्यायालयले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।