उदयपुरका बालकको घाँटी हुँदै पेटमा पुगेको कैंची शल्यक्रिया गरेर निकालियो

विराटनगर— उदयपुरका १५ वर्षीय एक बालकको पेटमा अड्किएको कैंची शल्यक्रिया गरेर निकालिएको छ। खेल्ने क्रममा बालकले निलेको कैंची सानो आन्द्रासम्म पुगेको थियो। विराटनगरस्थित नोबेल मेडिकल कलेज चिकित्सकले शल्यक्रिया गरेर उक्त कैंची निकालेका छन्।
नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार बालकलाई असार १७ गते अस्पतालमा भर्ना गरिएको थियो। ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची निकालिएको हो। शल्यक्रिया सफल भएपछि बालक सामान्य अवस्थामा घर फर्किएका छन्।
परिवारका अनुसार बालक घरमा टिभी हेर्दै गर्दा मुखमा खेलाइरहेको सानो कैंची अचानक घाँटीभित्र प्रवेश ग¥यो। बालकले ‘कैंची अड्कियो’ भन्दै चिच्याएपछि हजुरबुबाले झिक्न खोज्दा झन् भित्रतिर पुगेको थियो।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बालकलाई नोबेल मेडिकल कलेज ल्याइएको थियो। त्यतिबेला सम्ममा कैंची पेटमा पुगिसकेको थियो। गम्भीर अवस्थामा भर्ना भएका बालकको शल्यक्रिया नोबेल अस्पतालका ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टिमले गरेका थिए।
अस्पतालका अनुसार कैंची बालकको सानो आन्द्रासम्म पुगेको थियो। अत्यन्त संवेदनशील शल्यक्रिया भए पनि चिकित्सकहरूको प्रयासले बालकलाई सफलतापूर्वक जटिल अवस्थाबाट बचाइएको हो।