उदयपुरको झोडा चोकमा टेम्पोले किचेर ७४ वर्षीया वृद्धा महिलाको मृत्यु

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–८ झोडा चोकमा आइतबार दिउँसो सवारी दुर्घटनामा परेर एक वृद्धा महिलाको मृत्यु भएको छ।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा.प्र.०८–००१ ज ००७१ नम्बरको टेम्पोले यात्रु ओहोरदोहोर गरिसकेपछि अगाडि बढ्ने क्रममा त्रियुगा नगरपालिका–७ चुहाडेकी करिव ७४ वर्षीया कोटिमाया दनुवारलाई किचेको प्रहरीले जनाएको छ। गाडीको पछिल्लो चक्काले किचिएर उनी गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनापछि तत्काल उनलाई जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको अवस्था गम्भीर भएपछि पुनः फर्काई जिल्ला अस्पताल ल्याइएको थियो। अस्पतालले उनलाई आइतबार दिउँसो करिव साढे ३ बजे मृत घोषणा गरेको हो।
टेम्पो चालक कटारी नगरपालिका–६ का ३८ वर्षीय घमाडे सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।