भारतबाट भागेर आएका दिदीबहिनीले सेल्फीमोडमा गरे आत्महत्या, एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटियो शव

राजधानी — भारतबाट भागेर नेपाल आएका सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का दिदीवहिनी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल बिहीबार बिहान भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे, सिन्टिटारस्थित डेरामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

उनीहरूले आत्महत्याअघि आफ्नै मोबाइल प्रयोग गरी सेल्फीमोडमा आत्महत्या तयारीका फोटो खिचेका थिए। एउटै डोरीमा पासो लगाएको अवस्थामा उनीहरूले मोबाइलबाट फोटो खिचेर त्यसै आधारमा टिकटक भिडियो बनाएका थिए। उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी बाँधेर डोरीको दुई भागमा एक–एकजना झुन्डिएको अवस्थामा भेटिएका हुन्।

भिडिओमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’ भन्ने गीत प्रयोग गरिएको पाइएको छ। भक्तपुर प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा आत्महत्याअघि कैयौँ तस्बिर र भिडियो भेटिएको जानकारी दिएको छ। भिडिओ खिचेपछि तुरुन्तै उनीहरू अफलाइन भएका थिए। उनीहरूको अनुहारमा कुनै भय वा पीडाको संकेत नदेखिने र सजिलै पासो लागाउने शैलीमा फोटो खिचिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दिदीबहिनीका बाबुआमा रोजगारीका सिलसिलामा भारतमा छन्। उनीहरू आफैँ भारतबाट भागेर केही दिनअघि काठमाडौं आएका थिए। मुम्बईबाट कम्प्युटर क्लास जान भनेर उनीहरू निस्किएको परिवारले जनाएको छ। कलंकीमा बस्ने आफन्तकहाँ समेत नगएर भक्तपुरमा बसेका उनीहरूको मृत्युका बारेमा जानकारी पाउनासाथ प्रहरी र आफन्त घटनास्थल पुगेका थिए।

शव बुझ्न पुगेकी कान्छीआमाका अनुसार, दुवै छोरी हराएपछि भारतमै मिडियामार्फत ‘मिसिङ’ सूचना प्रवाह गरिएको थियो । उनीहरू कसरी नेपाल आए भन्नेबारे परिवारलाई अत्तोपत्तो थिएन। मृत्यु हुनुअघि दिदीबहिनीले फेसबुकबाट आफन्तहरूलाई समेत ब्लक गरेका थिए, जसका कारण उनीहरू कहाँ छन् भन्ने थाहा पाउन सकिएको थिएन।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले आत्महत्याको कारण खुल्न बाँकी रहेको जनाएको छ। मोबाइल, टिकटक भिडिओ, सामाजिक सञ्जाल प्रयोग र परिवारको पृष्ठभूमिका आधारमा थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट