सर्लाहीमा ट्राफिक चेकजाँचमा पेस्तोल भेटियोः दुई जना पक्राउ

सर्लाही — सर्लाही सदरमुकाम मलंगवाबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मलंगवा नगरपालिका–६, सुखैनियाका मोहन पासवान र रामहुलास पासवान रहेका छन्।
मलंगवा नगरपालिका–८ स्थित गोरखकाली प्रहरी चौकीअगाडि बीआर ३० ए १०७१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार मोहन पासवानलाई ट्राफिक प्रहरीले नियमित चेकजाँचका क्रममा रोकेको थियो।
उनले मोटरसाइकलका कागजात मोबाइलमा देखाउने क्रममा कटुवा पेस्तोलको फोटो देखिएपछि प्रहरीको शंका बढेको थियो। त्यसपछि विस्तृत सोधपुछ गर्दा मोहनले उक्त हतियार रामहुलास पासवानको भएको खुलाएका थिए।
सोही बयानका आधारमा प्रहरीले रामहुलासको घरमा खोजतलास गरी कटुवा पेस्तोल बरामद गरेको हो। दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। डीएसपी सरोज राईका अनुसार, पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुसन्धान अगाडि बढाइएको छ।