एमालेको पकड क्षेत्र भनेकै ठाउँमा ओलीलाई ठूलो धक्काः बालेन्द्र साह १ हजारभन्दा बढी मतले अगाडि
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रारम्भिक मतगणनाले अप्रत्याशित राजनीतिक संकेत दिएको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो दलको बलियो पकड रहेको क्षेत्रमै प्रारम्भिक गणनाबाटै उल्लेख्य रूपमा पछि परेका छन्। प्रारम्भिक मतगणनाअनुसार कमल गाउँपालिकाको बाँसबारी माध्यमिक विद्यालय (क) र (ख) केन्द्र तथा गौरादह नगरपालिकास्थित मोती माध्यमिक विद्यालय (क) र (ख) केन्द्रबाट प्राप्त मतगणना भईरहेको छ।
जसले अप्रत्याशित परिणाम देखाएको छ। ती चार मतदान केन्द्रबाट २ हजार ४०३ मत गणना हुँदा ओलीले अपेक्षाविपरीत निकै कम मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले उल्लेखनीय अग्रता बनाएका छन्।
विवरणअनुसार बालेन्द्र साहले १ हजार ४७८ मत प्राप्त गर्दा ओलीले जम्मा ३८५ मत मात्र पाएका छन्। यस आधारमा प्रारम्भिक गणनाबाटै साहले १ हजार ९३ मतको फराकिलो अग्रता बनाएका छन्, जुन परिणामले एमाले नेतृत्व र कार्यकर्ताहरूलाई समेत अचम्मित बनाएको छ।
निर्वाचनअघि एमालेका स्थानीय नेताहरूले दमक क्षेत्रबाहेक अन्य पालिकाहरूमा समेत पार्टीको बलियो प्रभाव रहेको दाबी गर्दै आएका थिए। विशेषगरी कमल गाउँपालिका र गौरादह नगरपालिकामा संगठनात्मक पकड मजबुत रहेको भन्दै मत सुरक्षित राख्न व्यापक चुनावी रणनीति अपनाइएको थियो।
तर प्रारम्भिक गणनाबाटै ती क्षेत्रमा आएको नतिजाले एमालेको दाबीलाई चुनौती दिएको देखिएको छ। पूर्वप्रधानमन्त्री ओलीको गृहजिल्ला झापा भएकाले पनि यो निर्वाचन क्षेत्रलाई राजनीतिक रूपमा विशेष महत्वका साथ हेरिएको थियो।
एमालेका लागि यो क्षेत्र प्रतिष्ठाको विषय बनेको थियो भने विपक्षी दलहरूका लागि ओलीलाई चुनौती दिने रणनीतिक मैदानका रूपमा हेरिएको थियो। प्रारम्भिक मतपरिणामले यही प्रतिस्पर्धालाई अझ तीव्र बनाइदिएको छ।
मतगणना अझै जारी रहेको र अन्य मतदान केन्द्रहरूको परिणाम आउन बाँकी रहेकाले अन्तिम परिणाम कस्तो आउने भन्ने विषय खुला नै रहेको छ। यद्यपि सुरुआती गणनाले देखाएको ठूलो अन्तरले झापा–५ को चुनावी प्रतिस्पर्धा निकै रोचक र तनावपूर्ण मोडतर्फ अघि बढेको संकेत दिएको छ।
