श्रीमती हत्या अभियोगमा ५ वर्ष जेल बसेर छुटेपछि खुकुरी प्रहार गरी १४ वर्षीया किशोरीको हत्या

जनकपुर– धनुषामा श्रीमती हत्याको कसुरमा ५ वर्ष जेल बसेर छुटेका ब्यक्तिले खुकुरी प्रहार गरी एक १४ वर्षीया किशोरीको हत्या गरेका छन्। घट्ना जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति करिव साढे ११ बजे भएको हो।
प्रहरीका अनुसार राति करिब साढे ११ बजे स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहले सोही घरमा डेरा गरेर बस्ने व्यक्तिहरूमाथि खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी १४ वर्षीया अञ्जलीकुमारी यादवको घटनास्थलमै मृत्यु भएको हो। उनी पिता दिनेश यादव र आमा आशा यादवसँग सोही घरमा डेरामा वसिरहेकी थिईन।
रामबाबु साहले अञ्जलीकी आमा ३५ वर्षीया आशा यादवमाथि पनि आक्रमण गरेका थिए। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। यस्तै, घटनास्थलमा डेरा गरी बस्दै आएकी मिथिला नगरपालिका–१ ढल्केवर निवासी भोगिन्द्र यादवकी १४ वर्षीया छोरी राधा यादवसमेत खुकुरी प्रहारबाट घाइते भएकी छन्। राधाको दाहिने हात र घुँडामा गहिरो चोट लागेको छ।
घाइतेहरूलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार दुवैको अवस्था गम्भीर भए पनि हाल ज्यान जोगिएको छ।
रामबाबु साह एक दशक अघि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जेल सजाय भोगिसकेका व्यक्ति हुन्। उनी पाँच वर्ष जेल बसेपछि छुटेका थिए। प्रहरीका अनुसार उनी मानसिक रूपमा असन्तुलित भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटनापछि फरार रहेका साहको खोजी कार्य तीव्र पारिएको छ। ‘हामीले सबै सीमा नाकाहरूमा प्रहरी चेकपोष्ट सक्रिय बनाएका छौं। हत्यारालाई चाँडै नियन्त्रणमा लिने प्रयासमा छौं।’– उनले भने।
प्रहरीले घटनास्थलबाट केही प्रमाण संकलन गरेको छ। हत्या, हत्या प्रयासको आधारमा कडा कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।