सिन्धुलीबाट सम्पर्कविहीन हायु परिवार पोखरामा फेला, भन्छन्– ‘धामीले त्यहाँ नबस्न भनेपछि ठाउँ छोड्यौं’

राजधानी– सिन्धुलीबाट सम्पर्कविहीन भएको हायु समुदायको १६ सदस्यीय परिवार कास्कीको पोखरा महानगरपालिका–३० मा फेला परेको छ। उनीहरू सोमबार राति सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसेको अवस्थामा फेला परेका हुन।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार सोधपुछमा उनीहरूले बसोबासका लागि नयाँ ठाउँ खोज्दै शनिबार नै पोखरा आइपुगेको बताएका छन्। ‘हामीलाई त्यहाँ (सिन्धुली) बस्न मन लागेन, काम पाउन पनि गाह्रो भएकाले नयाँ ठाउँ खोज्दै हिँड्यौं। ज्यामी काम गरेर खाने मान्छे हौं।’– एसपी ओलियाले एक सदस्यको भनाइ उद्धृत गर्दै भने।
बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका प्रहरीले जानकारी दिएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बिखर कटेरी छेड्पाकी करिव ४५ वर्षीया उर्मिला हायुको परिवार सम्पर्कविहीन भएको खबर सोमबार प्रहरीमा पुगेको थियो। उनीहरू शनिबार राति नै ‘बलेनी’ भन्ने स्थानबाट भ्यान चढेर पोखरा गएको पत्ता लागेको हो।
भ्यान चालक नविन विकले मधेस प्रदेश ०४–००१ ज ००८१ नम्बरको गाडीमा शनिबार बिहान एक बजे हायु परिवारलाई राखेर खनियाँखर्क–हेटौंडा–मुग्लिन हुँदै पोखरा पु¥याएको र लेकसाइडको एक होटलमा छाडेको बयान दिएका छन्।
उनीहरू सो होटलमा शनिबार राति बसे पनि आइतबार त्यहाँबाट निस्किएर बेपत्ता भएका थिए। प्रहरीले काठमाडौं बस्दै आएकी परिवारकी माइली छोरी सुजता हायुसँग सम्पर्क गर्दा उनले पनि परिवार सम्पर्कविहीन भएको विषयमा जानकारी नभएको बताएकी थिईन।
हायु परिवार ऋणको चपेटामा परेको जनाइएको छ। वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उर्मिलाका श्रीमानको तीन वर्षअघि मृत्यु भएपछि परिवार आर्थिक समस्यामा परेको हो।
ऋण चुक्ता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू बारम्बार घर पुगेका थिए। केही दिनअघि मात्र उनीहरूले प्रतिब्यक्ति १२ हजारका दरले तीन महिनाको भत्ता वापत १ लाख ८० हजार रुपैयाँ उठाउन वडाबाट सिफारिस लिएका थिए।
परिवारका सदस्यहरू घरमा रहेका बाख्रा, कुकुरजस्ता पाल्तु जनावर छाडेर एकाएक बेपत्ता भएपछि गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए। घर एकान्तमा भएकाले उनीहरू सम्पर्कविहीन भएको जानकारी पनि ढिलो पुगेको हो।
सम्पर्कविहिन भएर भेटिनेमा उर्मिला हायु, कमला हायु, कोमल माया हायु, अस्मिता हायु, शान्ता हायु, राजु हायु, उषा हायु, हिमाल हायु, लालबहादुर हायु, बहादुर हायु, लक्की हायु, सुवर्ण हायु, ओमकुमारी हायु, अर्जुन हायु, रियासा हायु र पूर्ण हायु छन्।
उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ। प्रहरीका अनुसार उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको हो। धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन्।