जुम्ला घुम्न गएका हृदयन्द्रको भ्लगले दर्शकको मन जित्यो, भन्छन्– हामी लाग्यौं भने देश समृद्ध हुन्छ होला

राजधानी– पूर्वनवयुवराज हृदयन्द्र वीरविक्रम शाहको नयाँ भ्लगले पछिल्ला दिनमा सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। बुधबार २४ वर्ष पूरा गरेका हृदयन्द्रले आफ्नो जन्मदिनको अवसर पारेर फेसबुकमा १५ मिनेटको भिडियो भ्लग सार्वजनिक गरे, जुन जुम्ला भ्रमणमा आधारित छ।
जुम्लाको प्रकृति, संस्कृति र जनजीवन झल्काउने यो भ्लगले दर्शकलाई हृदयन्द्रको व्यक्तित्व बुझ्न पनि मद्दत पु¥याएको छ। भ्लगमा उनले स्याउ खेतीदेखि कफी सप चलाउने युवासम्म र स्थानीय बासिन्दासँग आत्मीय संवाद गरेका छन्।
भिडियोमा उनी जुम्ला पहिलोपटक आएको अनुभव बाँड्दै खुशी व्यक्त गर्छन्। एक स्थानमा स्थानीय युवती पञ्चकली बुढाले ‘नेपाल कहिले समृद्ध हुन्छ होला?’ भनेर सोध्दा हृदयन्द्रले सहज जवाफ दिए, ‘मान्छेले राम्रो काम ग¥यो भने, हामी लाग्यौं भने हुन्छ होला।’
हृदयन्द्र हाल अमेरिकामा स्नातक तहको अध्ययनमा छन् र पढाइ सकेपछि नेपाल फर्किने योजना रहेको भिडियोमा उल्लेख गरेका छन्। भिडियोमा उनले आफू एनेमीप्रेमी भएको, विशेषगरी ‘वान पिस’ हेर्ने गरेको र केही एनेमी आफैंले बनाउने गरेको कुरा पनि खुलाएका छन्।
पूर्वनवयुवराजका रूपमा कहिल्यै मिडियामा खुलेर नआएका हृदयन्द्रको यो भ्लगले धेरैका लागि उनीप्रति चासो थपेको छ। सरल र शालीन व्यवहार, स्थानीयसँगको घुलमिल र सौम्यता देखेर सामाजिक सञ्जालमा उनीप्रति सकारात्मक प्रतिक्रिया आइरहेका छन्।
भ्लगलाई २ लाख ५० हजारभन्दा बढीपटक हेरिएको छ भने अनेकौं प्रतिक्रियामा उनको भद्रता, नम्रता र देशप्रेमको प्रशंसा गरिएको छ।