कैलाली कारागारमा भीषण झडपः एक कैदीको मृत्यु, ४७ घाइते, ३ जना गम्भिर

राजधानी— कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीबीच भएको भीषण झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरी छन्। उनी लागूऔषधको मुद्दामा थुनामा थिए। शुक्रबार राति करिब ११ बजे भएको झडपमा गम्भीर घाइते भएका चौधरीलाई सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। बाँकीको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा कैदीबन्दीहरूका दुई समूहबीच केही दिनयता बढ्दै गएको मनमुटाव नै झडपको कारण भएको देखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीले बताए।

उनका अनुसार ‘ए’ ब्लक र ‘बी’ ब्लकका समूहबीच झगडा भएको अपुष्ट जानकारी आएको छ र घटनाबारे गहिरो छानबिन सुरु गरिएको छ।

कैलाली कारागारको क्षमता करिब १५० जनाको भए पनि हाल यहाँ साढे ६ सयभन्दा बढी कैदीबन्दी छन्। क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा सुरक्षा चुनौती बढेको र यस्ता घटनाको जोखिम उच्च हुने अधिकारीहरूले स्वीकार गरेका छन्।

बिहीबार पनि सोही कारागारमा झडप हुँदा पाँच जना घाइते भएका थिए। प्रमुख प्रशासकीय अधिकृत जोशीले यस घटनालाई कारागारभित्रको सुरक्षा कमजोरीको संकेतका रूपमा लिँदै दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताए। उनका अनुसार आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विशेष सुरक्षा योजना बनाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट