नेपालमा लुकेका भारतका कुख्यात हतियार तस्कर ‘सलीम पिस्टल’ पक्राउ, आईएसआई र डी कम्पनीसँगको सम्बन्ध खुलासा

राजविराज — भारतका कुख्यात हतियार तस्कर शेख सलीम उर्फ ‘सलीम पिस्टल’लाई भारतीय र नेपाली सुरक्षा निकायको संयुक्त अपरेसनमा पक्राउ गरिएको छ। भारतीय दिल्ली प्रहरीको विशेष शाखा र अन्य सुरक्षा निकायले प्राप्त गोप्य सूचनाका आधारमा यो कारबाही गरेका हुन्।
सलीम पिस्टललाई नेपालको कुन ठाउँमा पक्राउ गरिएको हो भन्ने यकिन विवरण नभएपनि भारतीय मिडिया आजतकले उनलाई नेपालमै पक्राउ गरिएको उल्लेख गरेको छ। उनलाई भारतमा पहिलोपटक ग्याङस्टारहरूलाई ‘जिगाना पिस्टल’ आपूर्ति गराउने व्यक्तिका रूपमा चिनिन्छ। उनले पछिल्ला वर्षहरूमा पाकिस्तानबाट उच्चस्तरीय हतियार ल्याएर लरेन्स बिश्नोई, हाशिम बाबा लगायतका चर्चित अपराधी समूहहरूलाई आपूर्ति गर्दै आएको अनुसन्धानमा खुलेको छ।
पुलिसका अनुसार, सलीम पिस्टल पाकिस्तानको गुप्तचर संस्था आईएसआई र अन्डरवल्र्ड डन दाउद इब्राहिमको ‘डी कम्पनी’सँग प्रत्यक्ष सम्पर्कमा रहेको पक्का प्रमाण भेटिएको छ। उनको नाम सिद्धु मुसेवाला हत्या प्रकरण र बाबा सिद्दीकी हत्या घटनामा पनि जोडिएको छ।
दिल्लीको सिलमपुरमा सन् १९७२ मा जन्मिएका सलीमले आठ कक्षापछि आर्थिक अभावका कारण पढाइ छोडेका थिए। निजी सवारी चालकको रूपमा काम गर्ने क्रममा गलत संगतमा परेर उनले सवारी चोरीबाट अपराध यात्रा सुरु गरेका थिए। सन २००० मा पहिलोपटक पक्राउ परेपछि उनले हतियारसहित डकैती र करोडौँको लुटपाटमा संलग्न हुँदै आफ्नो अपराध नेटवर्क विस्तार गरे।
दिल्लीमा पक्राउ परेपछि विदेश भागेका सलीमले त्यहींबाट हतियार आपूर्ति सञ्जालसञ्चालन गरेका थिए। सलीमको नेटवर्क भारतका विभिन्न राज्यसम्म फैलिएको थियो। उनले पाकिस्तानबाट हतियार ल्याएर नेपाल र अन्य सीमावर्ती क्षेत्रमार्फत भारत भित्र्याउने गर्थे। उनको सूचीमा पिस्टल, कार्बाइनदेखि अन्य अत्याधुनिक हतियारसम्म पर्थे।
हाल प्रहरीले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको र उनको नेटवर्क तथा पाकिस्तानसँगको सम्पर्कबारे विस्तृत जानकारी संकलन भइरहेको जनाइएको छ।