पशुपति आर्यघाटमा शवको हड्डी चोरी र बिक्री प्रकरणः उदयपुरका मैनालीसहित २ जनाले स्विकारे अपराध

राजधानी– पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेको शवबाट हड्डी चोरी गरी बिक्री गरिएको घटनामा पक्राउ पर्ने दुईमध्ये उदयपुरका विनायक मैनाली पनि परेका छन्। उनले काभ्रे घर भएका गणेश ढकालको सहयोगीको भूमिकामा काम गर्ने गरेका थिए।
घटना गत साउन २३ गते बेलुकाको हो। प्रहरीका अनुसार काभ्रेको बनेपा नगरपालिका–९ का ६५ वर्षीय राम शाहीको मृत्यु भएपछि उनको शव पशुपति आर्यघाटमा दहन गर्न ल्याइएको थियो। अन्त्येष्टि भइरहेको क्रममा गणेश ढकालले मृतकको खुट्टाको हड्डी निकालेर आफ्ना सहयोगी विनायक मैनालीलाई दिएका थिए। मैनालीले उक्त हड्डी बट्टामा राखेर केही समयदेखि आर्यघाटमै पर्खिरहेका एक अपरिचित व्यक्तिलाई बुझाएका थिए।
प्रारम्भिक अनुसन्धानमा ती अपरिचितले हड्डीका लागि ५ सय रुपैयाँ तिरेको खुलेको छ। ४ सय रुपैयाँ ढकाललाई दिइएको र बाँकी १ सय रुपैयाँ मैनालीलाई दिइएको प्रहरीले जनाएको छ। मृतकका आफन्तले हड्डी निकालिएको प्रत्यक्ष देखेर प्रहरीलाई खबर गरेपछि दुवैजनालाई पक्राउ गरिएको हो।
विनायक मैनाली आर्यघाट परिसरमा फालिएका सामान र कपडा टिप्ने काम गर्दै आएका थिए। लामो समयदेखिको ढकालको सहयोगीका रूपमा उनी शव दहनको क्रममा हुने सहायक कार्यमा संलग्न हुन्थे। यही क्रममा उनी मृतकको हड्डी बिक्री गर्ने गैरकानुनी कार्यमा पनि संलग्न भएको अनुसन्धानबाट खुलेको छ।
प्रहरी वृत्त गौसालाका डिएसपी सुकदेव खनालका अनुसार मृतकका आफन्तको उजुरीका आधारमा तत्काल उनिहरुलाई नियन्त्रणमा लिइएको हो। ‘यो घटना निकै अनौठो र नौलो भएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको छ,’ खनालले भने। उनका अनुसार मृतकका आफन्तले ढकालले यसअघि पनि शवको हड्डी चोरी गरी बिक्री गर्ने गरेको आशंका व्यक्त गरेका छन्, जसको सत्यता पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतका अनुसार ढकालले शवको हड्डी वा मासु आर्यघाट वरपर बस्ने अघोरी बाबालाई बिक्री गर्ने गरेको हुनसक्ने अनुमान गरिएको छ। ढकालले भने मासु नभएर हड्डी मात्र निकालेको बताएका छन्। यसअघि पनि शवको मासु निकाल्ने र मानिसको मासु खाने समूहबारे अपुष्ट हल्ला रहँदै आएकोमा यो घटना त्यसको पुष्टि सरह भएको प्रहरीको भनाइ छ।
हालको कानुनमा शवको हड्डी वा मासु चोरी गरी बिक्री गर्ने कार्यलाई प्रत्यक्ष रूपमा अपराधको रूपमा समेट्ने स्पष्ट प्रावधान नभएकाले पक्राउ परेकालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका सहायक प्रवक्ता कुलदिप चन्दले जानकारी दिएका छन्।