अमेरिकामा एकै परिवारका तीन नेपालीको मृत्यु, हत्या पछि आत्महत्याको निस्कर्ष

राजधानी– अमेरिकाको टेक्सस राज्यमा पुनः नेपाली समुदायलाई स्तब्ध बनाउने घटना भएको छ। डालास सहरको डडली स्ट्रिटस्थित एक घरमा भएको गोली काण्डमा एकै परिवारका तीन जनाको ज्यान गएको छ।

स्थानीय समय अनुसार शनिबार बिहान २ः१० बजे ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेका थिए। त्यसपछि उनले सोही पेस्तोल प्रयोग गरी आत्महत्या गरेको डालास प्रहरीले जनाएको छ। रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको हो।

प्रहरीका अनुसार ललित लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। उनले घटनाको एक दिनअघि फेसबुकमा लामो समयदेखि मानसिक तनावमा रहेको र काममा उपस्थित हुन नसकेको उल्लेख गरेका थिए। त्यहाँ उनले सरकारी सेवाहरू नपाएको, त्यसकै कारण परिवारलाई कठोर परिश्रम गर्न बाध्य भएको दुःख पनि पोखेका थिए।

नेपाली समाज टेक्सस (एनएसटी)का महासचिव विजय भुसालका अनुसार ललित भुटानी शरणार्थी र रञ्जना नेपाली भएको प्रारम्भिक जानकारी छ। संस्थाले नेपालस्थित आफन्तसँग समन्वय गर्दै शव नेपाल पठाउने प्रयास गरिरहेको उनले बताए।

यो घटना दुई महिनाअघि भर्जिनियामा भएको मनासस सहरको घटनासँग मिल्दोजुल्दो छ, त्यहाँ पनि एकै परिवारका चार नेपालीको गोली प्रहारबाट मृत्यु भएको थियो। दुवै घटनामा प्रहरीले प्रारम्भिक रुपमा ‘हत्या पश्चात आत्महत्या’ को निष्कर्ष निकालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट