फत्तेपुरमा विश्व बन्धुत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम

फत्तेपुर (सप्तरी)– विश्व बन्धुत्व दिवस र राजयोगिनी प्रकाशमणी दादीको १८औं पुण्य तिथिको अवसरमा शुक्रबार सप्तरीको फत्तेपुरस्थित ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा नेपाल प्रहरीका १ जना, सशस्त्र प्रहरीका ३ जना, नेपाल आर्मीका ५ जना तथा अन्य १४ जना गरी जम्मा २३ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकाल पनि उपस्थित थिए।
ब्रह्मकुमारी उपसेवा केन्द्रकी सञ्चालिका निरा दिदीका अनुसार सप्तरी जिल्ला कारागारका १२५ जना कैदीबन्दीले समेत रक्तदान गर्न नाम दर्ता गरेका छन्। उनीहरुले शनिवार रक्तदान गर्ने कार्यक्रम रहेको उनको भनाई छ।
विश्व बन्धुत्व दिवस नेपालसहित भारत लगायत १४४ देशमा एकैसाथ मनाइँदैछ। शुक्रबारदेखि सुरु भएको कार्यक्रम लगातार तीन दिनसम्म जारी रहने उनले बताईन। सप्तरीमा यसको सुरुवात फत्तेपुरबाट गरिएको हो।
आयोजकले रक्तदान केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई जीवन रक्षा र विश्व बन्धुत्वको भावनाबाट ओतप्रोत भएर त्यसलाई व्यवहारमा उतार्ने अभियानका रूपमा आयोजना गरिएको बताएका छन्।