वीरगन्जमा हैजाको संक्रमण नियन्त्रणबाहिर, विद्यालय दुई दिनका लागि बन्द

वीरगन्ज — वीरगन्ज महानगर क्षेत्रमा हैजाको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएका छन्। महानगरपालिकाले शनिबार आकस्मिक बैठक बसेर भदौ ८ र ९ गते सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो।

गत केही दिनदेखि सहरी वडाहरूमा झाडापखाला र हैजाका बिरामी तीव्र रूपमा बढिरहेका छन्। महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, शुक्रबारदेखि शनिबार दिउँसो १ बजेसम्मको रिपोर्टअनुसार १७ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ।

ती मध्ये तराई हस्पिटलमा ८ जना, नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजमा ३ जना, अली अर्थो सेन्टरमा १ जना उपचाररत छन्। यी संक्रमित सबैजना वडा नम्बर ११, १२, १३ र १४ का बासिन्दा रहेको उनले जानकारी दिए। थप दुई सयभन्दा बढी झाडापखाला र हैजाका शंकास्पद बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।

हाल वीरगन्ज महानगरका वडा नम्बर १ देखि १६ सम्मलाई बढी जोखिमयुक्त क्षेत्र मानिएको छ। महानगरले सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेर घरदैलो जागरण कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। यसैको नियन्त्रण तथा रोकथामका लागि विद्यालय बन्द गर्नुका साथै सार्वजनिक रूपमा बिक्री वितरण हुँदै आएका पानीपुरी, चाट, चटपटे जस्ता खाद्यपदार्थमा तत्काल प्रतिबन्ध लगाइएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णका अनुसार दूषित पानी प्रयोग हुने सम्भावना भएकाले यस्ता खाद्यपदार्थ निषेध गरिएको हो। शनिबार बिहान मेयर राजेशमान सिंहले वीरगन्जका अस्पताल प्रतिनिधिहरूसँग आकस्मिक बैठक बोलाएका थिए। बैठकले हैजाको रोकथाम र नियन्त्रणका लागि विभिन्न तत्कालीन कदमहरू चाल्ने निर्णय गरेको छ।

स्थानीय स्तरमै सचेतना र स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्यकर्मीको २५ वटा टोली गठन गरिएको छ भने महानगरमा हेल्प डेस्क स्थापनासँगै मोबाइल नम्बर ९८४५१११९९९ सार्वजनिक गरिएको छ, जसमा सम्पर्क गरेर हैजासम्बन्धी जानकारी लिन सकिनेछ।

आकस्मिक अवस्थामा प्रयोग गर्न स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा सवारीसाधन तयारी अवस्थामा राखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट