रास्वपाको रुपन्देही–३ का उम्मेदवार रवीकै सर्कलका, बहुविवाह आरोपले मच्चायो हंगामा

बुटवल– पार्टी अध्यक्ष रवि लामिछाने जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ को उपनिर्वाचनका लागि छनौट गरेको उम्मेदवार लेखजङ थापा पनि वहुविवाहको विवादमा परेका छन्।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै आइतबार मात्रै उम्मेदवार घोषित भएका थापामाथि बहुविवाह र गोप्य रेकर्डिङ गर्ने गरेको आरोप लागेको छ। थापाले पहिलो पत्नी सुलोचना घिमिरेसँग सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गरेको जनाईएको छ।
सामाजिक सञ्जालमा पुरानो युट्युब भिडियो र टिकटक सामग्रीमार्फत उनको दुई पत्नीबीचको सहअस्तित्वसम्बन्धी तथ्यहरू सार्वजनिक भएपछि बहस झन् चर्किएको छ। पछिल्लो समय ‘नुमा शर्मा’को टिकटक आईडीमार्फत दुवै पत्नी सँगै देखिने भिडियोहरू चर्चामा आए पनि विवाद चर्किएपछि खाता प्राइभेट गरिएको छ।
यसअघि पनि थापा पार्टीको प्राइमरी इलेक्सन प्रक्रियामा गोप्य क्यामेरा जडित चस्मा प्रयोग गरी बैठक रेकर्ड गरेको आरोपमा परेका थिए। आठ आकांक्षीले सामूहिक उजुरी दिए पनि केन्द्रीय समितिले कुनै कारबाही नगरी उनलाई उम्मेदवार घोषणा गरेकोमा प्रश्न उठेको छ।
थापाको उम्मेदवारीप्रति असहमति राख्ने आकांक्षीहरू भन्छन्, ‘पारिवारिक विवरण र आचरणबारे आधारभूत जानकारी नबुझी उम्मेदवार बनाउँदा अहिले पार्टी नै आलोचनाको केन्द्रमा परेको छ।’ यो विवादले रास्वपाभित्रै मत विभाजन हुने खतरा देखिएको विश्लेषण भइरहेको छ।
सामाजिक सञ्जालमा समेत ‘रास्वपामा उम्मेदवार हुन बहुविवाह हुनैपर्छ’ भन्ने व्यङ्ग्यात्मक ट्रोलहरू बनाईएका छन्। राप्रपाका दिवंगत नेता दीपक बोहराको निधनपछि रिक्त बनेको रूपन्देही–३ मा उपनिर्वाचन तय भएको हो। हालसम्म रास्वपाले मात्र उम्मेदवार सार्वजनिक गरेको छ भने थापामाथि लागेको विवादले निर्वाचनमा पार्टीलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ।
उसो त स्वयम् लामिछाने पनि वहुविवाहका विषयमा सधैं विवादको घेरामा रहन्छन्। उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग ०५१ साल मंसिर ११ गते पहिलो विवाह गरेका थिए। दुई छोरी भएपछि सन् २०१८ मा सम्बन्ध विच्छेद गरे। त्यसपछि उनको धेरै महिलासँग नाम जोडियो । पछि २०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे। निकिता पनि पारपाचुके गरेर बसेकी थिइन्। उनको पनि छोरी छिन्। दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए।
यो विवाहपछि उनकै पहिलो पत्नि इशाले ‘चौथो सम्वन्ध’ भन्दै शुभकामना दिएकी थिईन। रवि स्वयमले पनि तर, अमेरिकामा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको धेरै अघि स्वीकार गरेका थिए।