रुपन्देही–३ मा रास्वपा उम्मेदवार लेखजङ्ग थापाको वैयक्तिक जीवन विवादमा, दुईवटा विवाह स्वीकार

काठमाडौँ– रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका लेखजङ्ग थापाले आफ्नो वैयक्तिक जीवनको एउटा संवेदनशील आयाम सार्वजनिक गर्दै दुईवटा विवाह गरेको स्वीकार गरेका छन्। उम्मेदवारमा छनोट भएपछि उनीमाथि वहुविवाह र सुराकीको गम्भिर आरोप लागेको थियो।

मंगलबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै थापाले आफनो पारिवारिक जीवन न त गैरकानुनी रहेको, न त समस्यापूर्ण रहेको भन्दै सफाई दिएका छन्। उनले दुईवटा विवाह गरेको स्वीकार गर्दै एउटा विवाह कानुनी रूपमै सम्बन्ध विच्छेद भएको प्रमाण समेत सार्वजनिक गरेका छन्।

‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो’, थापाले भनेका छन्, ‘र त्योभन्दा ठुलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो।’

थापाले साझा अभिभावकत्वको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै लेखेका छन्, ‘एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। सम्बन्धविच्छेद भए पनि बच्चाको भविष्य सुरक्षित बनाउन आमा–बुवाको सौहाद्र्रपूर्ण सम्बन्ध जरुरी हुन्छ।’

थापाले आफ्नो निजी जीवनमाथि आएका प्रश्नहरू व्यक्तिगत नभई पार्टीमाथि भएको नियोजित आक्रमणका रूपमा व्याख्या गरेका छन्। ‘माथि आक्रमण भएको हो भने त्यो लेखजङ्ग थापामाथि मात्र होइन, सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि हो,’ उनले भनेका छन्।

न्युरोचिकित्सकका रूपमा १४ वर्षको पेशागत यात्रापछि राजनीतिमा प्रवेश गरेका थापाले आफू देशको रूपान्तरणकारी परिवर्तनका लागि लागेको बताएका छन्। ‘म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ,’ उनले स्पष्ट पारेका छन्।

थापाले आफ्नो निजी जीवनको यो आयामबारे पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श उम्मेदवार छनोट प्रक्रियामा समावेश भएको पनि उल्लेख गरेका छन्।

थापाले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार ९६ वर्षकी उनकी आमा भैरहवामा बस्छिन र उनी आमालाई खुसी बाँड्न र आशीर्वाद लिन पहिलो फ्लाइटमार्फत भेट्न जाने तयारीमा थिए। तर व्यक्तिगत जीवनमाथि प्रश्न सोध्नेहरूले उनलाई काठमाडौँमा सार्वजनिक रूपमा जवाफ दिन बाध्य बनाएको उनले बताएका छन्।

थापाले आफ्नो भनाइमा पार्टी र देशप्रतिको प्रतिबद्धता पनि स्पष्ट पारेका छन्। उनी भन्छन्, ‘व्यक्तिगत कारणले पार्टीमा सानो दाग लागोस् भन्ने मेरो इच्छा छैन। म रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे हुँ, कुनै खाले व्यक्तिगत आक्रमणले मलाई रोक्न सक्दैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार थापाको उम्मेदवार छनोट प्रक्रिया ३५ दिन लामो बहुआयामिक मूल्यांकनपछि सम्पन्न भएको थियो, जसमा पेशागत क्षमता, सामाजिक प्रतिबद्धता र कानुनी पक्षहरूको समीक्षा गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट