हाकिमसँग शारीरिक सम्वन्ध राख्न बालिकालाई फकाउने कार्यालय सहयोगी धरौटीमा रिहा, हाकिम फरार

ओखलढुंगा — जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष बालकुमार खनालसँग शारीरिक सम्बन्ध राख्न भन्दै १३ वर्षीया बालिकालाई फकाएको आरोपमा पक्राउ परेकी कार्यालय सहयोगी प्रमिला विश्वकर्मा धरौटीमा रिहा भएकी छन्।

सिद्धिचरण नगरपालिका–१२ निवासी प्रमिला विश्वकर्मालाई जिल्ला अदालतले १ लाख २५ हजार रूपैयाँ धरौटीमा रिहा गरेको हो। उनी साउन २१ गते बालिकालाई हाकिमसँग ‘सम्बन्ध राख्न’ फकाएको आरोपमा पक्राउ परेकी थिइन्। २३ दिन हिरासतमा राखेपछि भदौ १३ गते अध्यक्ष खनाल र प्रमिलाविरुद्ध बाल यौन दुर्व्यवहारमा मुद्दा दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी मदन केसीका अनुसार, प्रमिलाले हाकिमको आदेश अनुसार बालिकालाई फकाएको बयान दिएकी छन्। प्रमिलाले प्रहरीलाई दिएको बयान अनुसार, साउन दोस्रो साता उनले बालिकालाई भेटेर ‘ठूला मान्छेसँग संगत गर्नुपर्छ, सरले तिमीलाई मन पराउनुहुन्छ’ जस्ता प्रलोभन देखाएकी थिईन्।

बालिकाले त्यसबेला कुनै प्रतिक्रिया नदेखाए पनि मोबाइलमा अडिओ रेकर्ड गरेर पछि सार्वजनिक गरेकी थिईन। अडिओमा प्रमिलाले बालिकालाई आधा घन्टासम्म फकाएको स्पष्ट सुनिन्छ।

बालिकाले आफ्ना आमाबाबा भारतमा रोजगारीमा रहेका कारण घटना प्रत्यक्ष सामना गर्नुपरेको थियो। उनका अनुसार प्रमिलाले बहिनी मार्फत उनलाई कार्यालयमा बोलाउन पठाएको र ‘जागिर, कम्प्युटर सिकाइदिने’ प्रलोभन देखाएको थियो।

यो घटनामा मुख्य आरोपी बालकुमार खनाल फरार छन्। डिएसपी केसीका अनुसार, प्रमिलाले हाकिमको निर्देशनमा बालिकालाई फकाएको भने पनि अध्यक्ष खनाल पक्राउ नपरेसम्म पूर्ण रुपमा छुटकारा दिन मिल्दैन। उनका अनुसार बाल यौन दुव्र्यवहारको मुद्दामा अदालतले प्रमिलालाई धरौटीमा रिहा गरे पनि अनुसन्धान जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट