खानेपानी मन्त्रीलाई धम्की दिने किरण साहको नयाँ अडिओ सार्वजनिक

वीरगञ्ज — खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिने टिकटकर किरण साहको अर्को अडिओ सार्वजनिक भएको छ। टीभी वीरगञ्जमार्फत सार्वजनिक अडिओमा किरण साहले भोजपुरी भाषामा कुरा गर्दै धम्की दिने शैलीको संवाद गरेको पाइन्छ।
अडिओको सुरूवातमा उनी भन्छिन्, ‘सन्देश सुनेर पोष्ट गर्न सक्ने भए गर्नु, मलाई कुनै डर छैन।’ तर त्यसमा अर्को व्यक्तिको आवाज स्पष्ट सुनिने अवस्था छैन। अडिओको क्रममा उनले फोन नउठाएको कारण रिस उठेको उल्लेख गरेकी छिन्।
अडिओमा ‘ज्यान से मारदेहम’ (मारिदिन्छु) भन्ने धम्कीसमेत दिएको उल्लेख गर्दै उनी अर्को ब्यक्तिसँग प्रश्न गर्छिन– यसले कुन ‘दिक्कत’ (समस्या) त गर्दैननी ?’
अडिओमा उनले भनेकी छिन्– ‘पहिला राम्ररी सुन्नु, पोष्ट गर्ने उचित खालको छ भने हाल्नु, हैन भने भिडिओ मात्रै बनाएर हाल्नु। अडिओमा धम्की दिएको छु, मन्त्रीलाई धम्की दिनु उचित हुँदैन।’
विश्लेषक र कानुनी विशेषज्ञका अनुसार यस प्रकारको धम्की सार्वजनिक नेतामाथि संवेदनशील सुरक्षा जोखिम निम्त्याउन सक्ने भएकाले अनुसन्धान आवश्यक देखिन्छ। प्रहरी तथा सम्बन्धित निकायले यस घटनामा कानुनी कारबाही अघि बढाउनुपर्ने माग उठेको छ।
उनी अहिले प्रहरी हिरासतमा छिन्। बारा कलैयाकी साहलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले मंगलबार म्याद थप गरेको छ। पहिलो पटक आइतबार पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति पाएको प्रहरीले मंगलबार थप तीन दिनको म्याद अनुमति पाएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
घटनाबारे अझै पनि अनुसन्धान चलिरहेको उनले बताए। मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा पर्सा प्रहरीले साहलाई शनिबार पक्राउ गरेको हो। उनी उपर साइबर अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र अफवाह फैलाएको आरोप छ।
किरणको समर्थनमा पूर्व सांसद एवम् पूर्वमन्त्री करिमा बेगम नेतृत्वमा महिलाहरूको समूहले सोमबार जिल्ला प्रहरी कार्यालय परिसर बाहिर प्रदर्शन गरेको थियो भने मंगलबार जनता समाजवादी पार्टी निकट महिलाहरूले साहलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साको मूल प्रवेशद्वारमा उनीहरूले ‘खानेपानीमा राजनीति गर्न पाइँदैन, मन्त्रीलाई धम्की दिने किरण साहलाई कारबाही गर’ जस्ता नारा लगाए।