चिठी लुकाएको विवादमा कार्यवाहक वडाध्यक्षमाथि वडा सदस्यको हातपात, वडासदस्य सुब्बा पक्राउ

दमक— आफ्नै वडाकी कार्यवाहक वडाध्यक्षमाथि हातपात गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–३ की वडासदस्य पूर्णमाया सुब्बा (पुनम) पक्राउ परेकी छन्।
सुब्बाले राप्रपाबाट निर्वाचित कार्यवाहक वडाध्यक्ष भुवमाया थापा पुलामीमाथि हातपात गर्नुका साथै वडा कार्यालयका कर्मचारीहरूमाथि समेत आक्रमण गरेको आरोप लागेको छ। सो क्रममा विवाद छुट्याउन गएका दुई महिला कर्मचारी सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार घटना बुधबार दिउँसो करिब २ बजे वडा कार्यालयअगाडिको खाजा पसलमा भएको हो। त्यहाँ कार्यवाहक वडाध्यक्ष पुलामी, कर्मचारी मनिका बेघा, प्रमिला थुलुङ र गंगा बराल खाजा खाइरहेका बेला वडासदस्य सुब्बा पुगेकी थिइन्।
भेटघाटकै क्रममा दुई जनप्रतिनिधिबीच चर्काचर्की बढ्दै गएपछि सुब्बाले पुलामीलाई कुटपिट गरेको आरोप छ। कार्यवाहक वडाध्यक्ष पुलामीले ‘चिठी लुकाएको’ आरोप सुब्बामाथि लगाएको र त्यसपछि विवाद झन् चर्किएको बताइएको छ।
घटनापछि पुलामीले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। सोही आधारमा प्रहरीले सुब्बालाई नियन्त्रणमा लिएको झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन्।