उपत्यकामा अब खोक्न पनि प्रहरीको प्रतिबन्धः विहानै खोके तीन लाख जरिवाना

काठमाडौँ— काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले अनौठो उर्दी जारी गर्दै शहरवासीलाई ठूलो आवाज हुने क्रियाकलाप नगर्न चेतावनी दिएको छ। ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत जारी सूचनाले घरभित्र र वरिपरिका दैनिक गतिविधिमा ध्वनि नियन्त्रणका लागि निर्देशिका दिएका छन्।

सूचनामा भनिएको छ– गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका र बिरामीको स्वास्थ्यमा ध्वनि प्रदूषणले नकारात्मक असर गर्न सक्छ। यसलाई मध्यनजर गर्दै प्रहरीले नागरिकलाई फोन कल गर्दा आवाज कम राख्न, हेडफोन प्रयोग गर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्न, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्न निर्देशन गरिन्छ।

बिहानको शान्ति कायम राख्न, नित्यकर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने नगर्न, गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकल वा अन्य सवारी बिहानै स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्ने, प्रेसर कुकुरको सिटी नलगाउने जस्ता सुझाव पनि सूचनामा समावेश गरिएको छ।

यसैगरी, राति अबेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउन, छिमेकीलाई असुविधा नपु¥याउने गरी जनावरको आवाज नियन्त्रण गर्ने, घर बाहिर फोहोर नफाल्ने र म्युजिक/पार्टी गर्दा छिमेकीलाई असहज नहुने व्यवस्था गर्नु पर्ने पनि उल्लेख छ।

सूचनाको सबैभन्दा विवादास्पद बुँदा भनेको ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था हो। यसले सामाजिक सञ्जालमा व्यापक बहस उत्पन्न गरेको छ। कतिपय नागरिकले नियमलाई अत्यन्तै अस्वाभाविक र अव्यावहारिक भएको भन्दै आलोचना गरेका छन्।

प्रहरीका अनुसार नियमको उद्देश्य सार्वजनिक शान्ति कायम गर्नु हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एनएसपी शेखर खनालले भने, ‘छिमेकीलाई गाह्रो भयो भने उजुरी आउँछ। त्यसको आधारमा सम्बन्धित निकायलाई पठाइन्छ। तर कानुनी कारबाही वा जेलमा हाल्ने अधिकार स्थानीय तहको हो। हामी प्रहरीको काम भने उजुरी संकलन र सम्बन्धित निकायमा जानकारी पु¥याउने मात्र हो।’

नागरिकहरूले भान्सा, शौचालय र व्यक्तिगत नित्यकर्मसमेत निगरानीमा राखिने नियमले असन्तोष व्यक्त गर्दै आए पनि, राति अबेर पार्टी नगर्ने, जनावरबाट छिमेकीलाई अशान्ति नहुने र फोहोर नफाल्ने जस्ता सकारात्मक पहललाई स्वागत गरिएको छ। यस अभियानले सार्वजनिक शान्ति कायम गर्ने लक्ष्य राखेको भए पनि व्यक्तिगत स्वतन्त्रता र वास्तविक जीवनमा यसका असरबारे बहस अझै जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट