जेनजीलाई लक्षित गर्दै एमाले नेता महेश वस्नेतको कथाः बुद्धका एक साथी उनीभन्दा ट्यालेन्टेड थिए रे, बालखैमा मरे रे !

राजविराज– प्रधानमन्त्रीको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा सैनिक मुख्यालय अगाडि भेला भएका जेनजी युवा समूहबीच कुटाकुट भएपछि एमाले नेता महेश वस्नेतले व्यंग्य गरेका छन्। यो केवल दुःखद घटना मात्र नभई भविष्यका लागि खतरनाक संकेत भएको भन्दै उनले फेसवुकमा एउटा कथा शेयर गरेका छन्।
उनको कथा यस्तो छ– ‘गौतम बुद्धको एक साथी बुद्धभन्दा अझ ट्यालेन्टेड थिए रे, तर बाल्यकालमै निधन भयो।’ कथा यत्तिनै हो। वस्नेतले यो कथाबाट ‘समयमै योग्य नेतृत्व नहुँदा ठूलो अवसर गुम्न सक्छ’ भन्ने आसय ब्यक्त गरेका छन्।
वस्नेतको भनाई जस्ताको त्यस्तैः
प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सैनिक मुख्यालय अगाडि भेला भएका जेनजीहरूबीच कुटाकुट भएको समाचार आयो। यो दुःखद मात्र होइन, खतरनाक संकेत पनि हो। बालेन डराएर पन्छने, दुर्गा प्रसाई, हर्क साम्पाङ वा कुलमान घिसिङलाई जेनजीले नमान्ने, ७३ वर्षकी सुशिला आमैलाई पनि हुन नदिने।
अनि फेरि घुमीफिरी ‘हामीले सकेनौँ, राजा आऊ देश बचाऊ’ वा ‘हामीले सकेनौँ, विदेशी सेना आऊ हामीलाई बचाऊ’ भन्ने अवस्थातिर धकेल्ने प्रयास हुँदैछ। त्यसको सट्टा बरु आन्दोलनमा सहिद भएका परिवारका सदस्यमध्ये अनुभवी, योग्य र सक्षम व्यक्तिलाई प्रधानमन्त्री बनाउनु। त्यो नै न्यायसंगत र नैतिक निर्णय हुनेछ।
नत्र खरायो शिकार गर्न हालिएको जालमा अकस्मात चितुवा अड्कियो भने छोडौं कि समातौं भन्ने द्विविधा सिर्जना हुन्छ। छोडौँ अट्याक गरेर मार्छ, समातेर वसौ कति समात्ने ? यस्तो द्विविधा तपाईंहरूको आन्दोलनमा नआओस्।
संसारको सबैभन्दा छोटो कथा छ ‘गौतम बुद्धको एक साथी बुद्धभन्दा अझ ट्यालेन्टेड थिए रे, तर बाल्यकालमै निधन भयो। कथा यत्तिमै सकिन्छ।’ त्यसैले, भाइबहिनीहरू, नेपाली जनताको लामो संघर्षले कमाएको उपलब्धि अधूरो नहोस्, राष्ट्र प्रतिगमनतर्फ नफर्कोस्, तपाईंहरूको आन्दोलन अधुरो कथा नबनोस्। हार्दिक शुभकमना।