विषम परिस्थितिमा पनि रास्वपा सांसदको दोधारे चरित्रः सामुहिक राजिनामा दिएपछि किन चाहियो संसद ?

काठमाडौं– मौकापरस्त र वाक पटुतामा पारंगत मानिने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अहिलेको विषम राजनीतिक परिस्थितिमा पनि दोधारे चरित्र त्याग्न सकेका छैनन्। जेनजी आन्दोलन चर्किएपनि सोमबार हतार–हतार प्रतिनिधि सभाबाट सामूहिक राजीनामाको घोषणा गरेका रास्वपा सांसदहरूले अहिले संसद विघटनको विषयमा फरक–फरक कुरा गर्न थालेका छन्।
काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले जेनजी समुहलाई संसद विघटन गर्न उक्साई रहेका बेला रविका सांसदहरू दुई धारमा विभाजित देखिएका छन्। काठमाडौँ–२ की सांसद सोबिता गौतमले संसद विघटन गर्न नहुने तर्क राखेकी छिन्। ‘संसद विघटन हुँदा नेपाली जनतामा निहीत सार्वभौम सत्ता र राजकीय सत्ता संकटमा पर्न सक्छ। मौजुदा संसदबाटै समस्याको समाधान खोज्न सकिन्छ।’– उनले भनिन्।
‘भ्रष्टाचारी विरुद्ध म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि त्यत्तिकै अडिग छु’ उनले थपिन्–‘जनताको सर्वोच्चता संकटमा पार्ने गरी संसद विघटनतर्फ मुलुकलाई लैजानु हुँदैन।’
अर्की सांसद तोशिमा कार्की संसद विघटनको पक्षमा छिन्। राजनीतिलाई उन्नत बनाउने र व्यवस्थागत सुधार सुनिश्चित गर्न संसद विघटन आवश्यक रहेको उनको तर्क छ। सांसद शिशिर खनालले भने व्यवस्था संकटमा पर्न लागेको भन्दै संसद विघटन नहुने धारणा व्यक्त गरेका छन्। जेनजी आन्दोलनपछि उत्पन्न अन्यौलताले लोकतन्त्र समाप्त हुने संशय बढाएको उनले वताए।
जेनजी आन्दोलनको आडमा जेलबाट फुत्किएका रास्वपा सभापति रवि लामिछानेले भने यसबारे स्पष्ट मत राखेको सुनिएको छैन। उनी आफनो सफाई दिनमै ब्यस्त छन्। जेनजीको आन्दोलनको आडमा रवि कारागारबाट भागेको आरोप लागेपछि उनी एउटा पत्र देखाउँदै वेला–वेला फेसवुक लाईभ गर्छन। ‘मलाई सचिव स्तरिय निर्णयको आधारमा कारागारले नै सुरक्षित रुपमा वस्नु भनेर पठाएको’ भन्छन्।
सहकारी काण्डमा निलम्बनमा परेका रविकै निर्देशनअनुसार सांसदहरूले राजीनामा घोषणा गरेको जानकारी स्रोतहरूले दिएका छन्। सामूहिक राजीनामा दिएका रास्वपा सांसदहरू संसद विघटनको विषयमा विभाजित देखिनुले पार्टीभित्रै भविष्यको राजनीतिक दिशा र लोकतान्त्रिक स्थायित्वको बारेमा गहिरो प्रश्न उठाएको छ।