खोटाङमा २६ वर्षीया रेस्मिका परियारको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

दिक्तेल— खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेकी २६ वर्षीया रेस्मिका परियार सोमबार राति मार्से जंगलमा मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका आधारमा उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।
अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा घटनास्थलमा मारिएको हुन सक्ने गाउँपालिका कार्यवाहक वडाध्यक्ष सुवास प्रधानले बताएका छन्।
प्रधानका अनुसार बेलुकी अबेरसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। बाटोमा चप्पल फेला परेको र केही तल मडारिएको ठाउँमा करिब एक सय मिटर तल शव घोप्टो अवस्थामा फेला परेको थियो।
परियारको भित्री कपडा खोलेर फालिएको तर बाहिरी कपडा भने लगाइएको अवस्थामा फेला परेको प्रधानले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार रातिदेखि नै घटनास्थलमा प्रहरी पुगेको छ।
प्रहरी घटनास्थलको अनुसन्धानसँगै अपराधको प्रकृति र संलग्न व्यक्तिको पहिचानका लागि थप कदम चाल्ने तयारीमा रहेको जनाइएको छ।