चिहान सम्याएपछि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने योजनामा बालेन्द्र, कोर टिम बनाएर पार्टी दर्ताको तयारी

काठमाडौँ– डिस्कर्डमा लामो तयारीपछि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको ऐतिहाँसिक र पुरातान्विक भौतिक संरचना मात्र ध्वस्त पारेन, नेपालको राजनीति र शासकीय स्वरुपमा पनि उथलपुथल ल्यायो।
आन्दोलनको तयारीमा काठमाडौँका मेयर बालेन्द्र साह र तत्कालिन रास्वपाकी नेतृ सुमना श्रेष्ठ समेत संलग्न थिए। खासगरी मेयर साहले आन्दोलनको अभिभावकको भूमिका निभाएको विभिन्ने जेनजी अगुवाहरुले बताईरहेका छन्।
आन्दोलन सुरु हुनु अघि नै साहले फेसबुकमार्फत आन्दोलनलाई समर्थन गरेका थिए। उनले लेखेका थिए, ‘भोलीको ¥याली स्पष्ट स्वतस्फुर्तरुपमा जेनजीको हो, उहाँहरू २८ वर्ष मुनि हुनुहुन्छ, जस्कोलागि म पनि अझै बुडो देखिन्छु। मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ। प्रिय जेनजी, भन्नुस्, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?’
भदौ २३ गते २–३ सय जनाको सहभागिता हुने भनिएको र्यालीमा हजारौंको उपस्थिति भयो। सुरक्षानिकायले सुरुमा आन्दोलनकारीलाई प्रोत्साहन गर्यो। संसद भवनसम्म छिर्न दिएर भिड अनिन्त्रित भएपछि ब्यारिकेट लगाएर गोली हान्न थाल्यो। प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भयो। यसपछि बालेन्द्रले फेसबुकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तोसराप गर्दै लेखे, ‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कबादी होस।’
यो स्ट्याटसले आन्दोलनकारीमा थप जोश भरेर आगोमा घ्यु थपेको काम त गर्यो नै ओलीलाई आतंकवादी र अपुत्रो भएको पनि महसुस गरायो। सन्तान सुख नपाएका ओली दम्पत्तिलाई एमाले कार्यकर्ताले बा–आमा भन्दै आएका छन्।
१९ जनाको मृत्यु भएपछि २४ गतेको आन्दोलन भयावह र हिंस्रक बन्यो। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, शितल निवास, बालुवाटार, राजनीतिक दलका नेताहरूका घर तथा भाटभटेनीका शाखाहरु खोजी खोजी आगो लगाइयो। पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई घरबाट घिस्याएर मरणासन्न हुने गरी कुटपिट गरियो।
‘गोली हान्ने यिनीहरु नै हुन’ भन्दै १ जना असई र प्रहरी जवानलाई कुटेर मारियो भने एक जना सहायक हवल्दारको घाँटी रेटेर हत्या भयो। यस्तो अपराधिक र अमानविय हिंसा हुँदा बालेन्द्र साह शारीरिक रूपमा कतै देखिएनन। तर, भित्रभित्रै उनले आन्दोलनको नेतृत्व गरिरहे। स्रोतका अनुसार, सिंहदरबारमा आगो लगाउने निर्णय पनि उनकै निर्देशनमा भएको थियो।
यो प्रकरणलाई वुझन २ वर्षअघिको एउटा प्रसंग सम्झनु पर्छ। २०८० भदौ १६ गते शनिवार राति ८ः ४९ बजे साहकी पत्नी सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको कार ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वरमा पुगेको थियो। त्यहाँ ट्राफिक चेकिङ पनि चलिरहेको थियो भने सवारी साधनहरू लाइनमा रहेका कारण उक्त गाडी केही पछाडि थियो। जब उक्त गाडी ट्राफिक चेकिङ भइरहेको स्थानमा पुग्यो, त्यसपछि ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडीलाई रोकेर कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास मागे।
तर चालकले शनिबार उक्त सवारीसाधन चलाए पनि पास नबनाएको र उक्त गाडी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भएको बताए। तर गाडीमा बालेन शाह नदेखेपछि ट्राफिक प्रहरीले उहाँ को हो भनी प्रश्न गरेपछि चालकले उहाँ बालेनकी पत्नी भएको र अस्पतालबाट फर्किँदै गरेको जवाफ दिएका थिए। त्यसलगत्तै ट्राफिक प्रहरीले चालकलाई सम्झाएर अब शनिबार सरकारी सवारीसाधन नचलाउन र चलाउन परे अनिवार्यरुपमा पास लिएर मात्रै चलाउनका लागि सुझाव दिँदै सवारीसाधनलाई छाडिदियो। उक्त सवारीसाधन शनिबार साँझ ८ बजेर ५१ मिनेट २ सेकेन्ड जाँदा त्यहाँबाट गएको देखिन्छ।
मेयर निर्वाचित भएपछि आफुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पनि माथिल्लो तहको नेताका रुपमा सोअफ गर्दै आएका उनले त्यो घट्नालाई ‘संघीय सरकारद्वारा आफनो मान मर्दन गरेको’ रुपमा लिए। र, फेसबुकमा स्ट्याटस लेख्दै सिंहदरबार जलाउने धम्की दिएका थिए। उनले लेखेका थिए–‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
यो स्ट्याटस चौतर्फी आलोचनामा परेपछि उनले पछि हटाए। तर अहिलेसम्म न त माफी मागेका छन्, न थप प्रतिक्रिया दिएका छन्। सिंहदरबारमा आगो लगाईएपछि तत्कालिन प्रधानमन्त्री ओलीले पनि त्यसको दोष बालेन्द्रमाथि नै लगाएका छन्। जेन–जी आन्दोलनपछि पहिलो पटक असोज ७ गते गुण्डुस्थित निवासमा भेट्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सिंहदरबार जलाउने योजनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) संलग्न भएको आशय व्यक्त गरे।
‘यो देश हाम्रो हो, हामीले बनाउने हो भन्ने भावना राख्नुपर्दछ। अहिले अरूको उच्चालाईमा गएर कसले जलायो? थाहा छैन। सिंहदरबार जलाइयो,’ ओलीले भनेका छन्, ‘कसले जलायो? देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले, सिंहदरबार जलायो होला र? पक्कै जलाएन।’ अरू नै कुनै घुसपैठिया तत्वहरूले नै सिंहदरबार जलाएको उनले बताएका छन्। ‘जो पहिलेदेखि नै भन्दै थिए, सिंहदरबार जलाउँछु,’ ओलीले अगाडि भनेका छन्। उनको यो अभिव्यक्ति सिधै बालेन लक्षित छ।
त्यो दिनको आन्दोलन भयावह र हिंस्रक बनेको थियो। उक्त आन्दोलनका कारण हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ। आन्दोलनले काठमाडौँ पुरै जलेको आभाष दिएको छ। तर, काठमाडौँ महानगरपालिकाले दमकल आगो निभाउन कतै पठाईएन। ललितपुरबाट दमकल आयो, तर काठमाडौँको दमकल कतै देखिएन। सामान्यतया, आगलागीमा दमकल कर्मचारी स्वतस्फुर्त खटिन्छन्, तर काठमाडौँमा कुनै दमकल घट्नास्थलमा नदेखिनु आफैमा सन्देहपूर्ण छ। यसले ‘सिंहदरबारसहित काठमाडौँका भौतिक संरचनामा आगो लाग्ने कुरा पहिला नै निर्धारण गरिएको थियो र दमकललाई आगो निभाउन नजानका लागि निर्देशन दिइएको थियो।’ भन्ने आशंका उत्पन्न हुनु स्वभाविक हो।
काठमाडौँमा आगो लगाउन सुरु गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा दिएर भागिसकेका थिए। बालेन्द्र साहले अर्को फेसबुक स्ट्याटस जारी गर्दै लेखे, ‘यो नितान्त जेनजीको आन्दोलन हो। प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला। तर याद रहोस—वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ।’
यो स्ट्याटस हेर्दा सामान्य लागेपनि यसैले देशको दशा र दिशा निर्देश गर्दै थियो। यो स्ट्याटस जेनजी आन्दोलनकारीलाई निर्देशन थियो– ‘वार्ता राष्ट्रपतिसँग होईन, सेना प्रमुखसँग गर्नु र संसद विघटनको सर्त राख्नु।’ नभन्दै आन्दोलन साम्य हुँदै गयो। त्यसपछि नेतृत्व विवाद सुरु भयो। मिराज ढुंगाना, रक्षा बम, तनुजा पाण्डे, पुरुषोत्तम यादव लगायतका समूह चर्चामा आए। तर, एकाएक ‘हामी नेपाल’ एनजीओका अध्यक्ष सुदन गुरुङ नेता बनेर निस्किए। उनी आन्दोलनमा स्वयम सेवकको रूपमा पानी बाँड्न आएका थिए। आन्दोलनका मागका विषयमा समेत जानकारी नभएका र ‘हाम्रा माग के अरे?’ भन्दै अरुलाई प्रश्न गर्ने उनलाई नेताका रूपमा उभ्याइयो। स्रोतका अनुसार, आन्दोलन हाईज्याक गर्न उनलाई भारत र तिब्बतका शरणार्थी नेता दलाई लामाले तयार गरेका बुख्याँचा हुन।
गुरुङको एनजीओले दलाई लामाले खोलेको संस्था ‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’बाट आर्थिक सहयोग पाउँछ, जसले उनलाई विवादमा पार्यो। जेनजीको अपेक्षा बालेन्द्र साहले आन्दोलनको नेतृत्व लिउन र प्रधानमन्त्री बनुन भन्ने थियो। जेनजीहरुले समय तोकेरै उनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गरे। तर, उनी पछि हटे। उनको मोबाइल स्विच अफ भयो।
‘राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा सर्वसम्मत नहुने, ६ महिनामा केही पनि काम गर्न नसक्ने र पुननिर्माण कठिन हुने उनलाई बोध भयो।’ स्रोत भन्छ–‘उनी, चिहान सम्याएपछि (पुनर्निर्माण सकिएपछि) प्रत्यक्ष निर्वाचित ५ वर्षे प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागे।’
बालेन्द्र भूमिगत भएपछि अन्ततः जेनजीले सरकार बनाउने पहल थाले। डिस्कर्डमा कस्लाई प्रधानमन्त्री र मन्त्री बनाउने भन्ने मतदानको नाटक मञ्चन भयो। भारतीय मिडियामा सुदन गुरुङलाई जेनजीको नेता र पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीको रूपमा उभ्याएर समाचार आउन सुरु भईसकेका थिए। कार्कीले पनि आफु चारतकै चेली भएको र प्रधानमन्त्री नरेन्द्र मोदीको स्वभावबाट प्रभावित भएको भन्दै अन्तरवार्ता दिन थालिन।
प्रधानमन्त्री बन्न रोईकराई गरिरहेका धरानका मेयर हर्क साम्पाङको समूहलाई कुटपिट गरियो र गुरुङले सुशीलालाई प्रधानमन्त्री बनाउन सिफारिस गरे। उनले सुशीलालाई प्रधानमन्त्री नबनाए राष्ट्रपतिलाई थुतेर निकाल्ने धम्कीसमेत दिए। सुशीला प्रधानमन्त्री नियुक्त भईन्। नेपालको इतिहासमा पहिलो पटक दलाई लामाले नयाँ सरकारलाई समर्थन दियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुशीला कार्कीको सरकारलाई महत्व दिँदै प्रशंसा गरेपछि गुरुङ थप चर्चामा आए।
गुरुङ राजनीतिक नेतृत्वमा अनुभव नभए पनि भारतीय मिडियाले उनलाई आन्दोलनको प्रमुख नेता भन्दै प्रचार गरे। विस्तारै, गुरुङ बालेन्द्रका पुराना साथीसमेत रहेको खुलासा भयो। २०७२ सालअघि डिजे र रेस्टुरेन्ट व्यवसायमा संलग्न रहेका गुरुङ र र्यापर बालेन्द्रबीच गहिरो सम्वन्ध रहेको खुल्यो।
पत्रकार सम्मेलनमार्फत आफूलाई नेताको रूपमा उभ्याएका गुरुङ अन्य जेनजी समूहको विरोधपछि मन्त्री नबन्ने भन्दै पछि हटे। अहिले उनको भूमिका जोकरको जस्तै भएको र पछिल्ला प्रकरणमा उनलाई कुनै जानकारी नभएको विश्लेषकहरु वताउँछन्।
अहिले सुशीला नेतृत्वको सरकार २१ फागुनमा चुनाव गराउने लक्षसहित अगाडि वढेको छ। तर, जेनजी समूहको राजनीतिक अवस्था भने सजिलो छैन। भ्रष्टाचार र कुशासन अन्त्यको मुद्दा बोकेको समूहले केवल एक प्रधानमन्त्रीका लागि सम्झौता गरेको आरोप खेप्दै आएको छ। संसद् भंग गरी कार्कीलाई प्रधानमन्त्री बनाइए पनि सम्झौताको अन्य बुँदामा अडान नलिनु, सार्वजनिक सम्पत्ति, घर तथा व्यवसायमा व्यापक क्षति हुँदा समूहभित्र आलोचना बढेको छ।
यता, बालेन्द्रले भने भने आन्दोनलमा संलग्नता र सिंहदरबारसहित भौतिक संरचना जलाएको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। उनले कहिले र कस्तो अवस्थामा के जवाफ दिन्छन् ? भन्ने धेरैको चासो छ। उनको यो भूमिगत शैलीले धेरैलाई आश्चर्यमा पनि पारेको छ। उनका बारेमा धेरैलाई जानकारी छैन। बालेन्द्रको स्वभाव के हो ? उनको सोच र सिद्धान्त के हो ? उनी के चाहान्छन्? मेयर हुँदै यत्रो उथलपुथल गराउन सक्ने उनले देशको नेतृत्व पाए के गर्लान ? भन्ने धरैको चासोको विषय बनेको छ।
अझ आश्चर्यको विषय भनेको आन्दोलनको पहिलो दिननै १९ जना कलिला जेनजी मारिए। अहिलेसम्म ७४ जना पुगेको छ। यही मृत्युलाई वमको रुपमा प्रयोग गर्ने उनी हालसम्म घाईते भेट्न अस्पताल गए, नत दाहसंस्कारमा सहभागि हुन आर्यघाट नै पुगे। यो प्रकरणले पनि नेपाली जनतामा बालेन्द्र प्रति आशंका उत्पन्न गराएको छ।
अर्कोतर्फ उनी, एक साताभित्र १५ सदस्यीय कोर टिम गठन गरी नयाँ पार्टी दर्ता गर्ने र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने तयारीमा रहेको स्रोतको दावी छ। तर, कतिपयले भने निर्वाचन घोषणा भईसकेपछि दल दर्ता नहुने भन्दै उनी निर्वाचन आयोगमा यसअघि नै दर्ता रहेको पार्टीबाट चुनाव लड्ने तयारीमा रहेको बताएका छन्। आयोगमा १८८ नम्बरमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’ बालेन्द्रकै भएको स्रोत बताउँछ । पार्टीका अध्यक्ष छन्, अनन्तराज घिमिरे र चुनाव चिह्न लौरो छ। बालेन्द्र साह लौरो चिह्नबाट स्वतन्त्र उमेदवार बनेर मेयरको चुनाव जितेका थिए।
२०७९ असार २९ गते दर्ता भएको उक्त पार्टी बालेनकै भएको पार्टी अध्यक्ष घिमिरेले पनि बताएका छन्। ‘हामी इन्जिनियरको टिम हौं। बालेन शाहका सपोर्टरहरुले दर्ता गरेको पार्टी हो। त्यो उहाँको पार्टी हो,’ उनले भने, ‘देश परिवर्तन हुनुपर्छ, सकारात्मक दिशामा अघि जानुपर्छ भन्ने मान्यता राख्ने टिम हो।’
उनले पार्टीको अध्यक्ष साह हुने वा अरु कोही हुने भन्ने निर्देशन आएमा औपचारिकता दिन कुनै समस्या नरहेको बताए। ‘बालेन आफैँ अध्यक्ष हुने वा अरु कोही अध्यक्ष हुने भन्ने कुरा उहाँ वा टिमले निर्धारण गरेपछि औपचारिकता दिन हामीलाई समस्या छैन’ घिमिरे भन्छन्। हाम्रो नेपाली पार्टी विभिन्न ठाउँमा चुनाव लडेको थियो। वाग्मती प्रदेशसभामा भने हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।