३ गते बनाएको देउवा दम्पतीको पासपोर्टमा थाईल्याण्डको भिसाः दम्पतीसहित शीर्ष नेताको पासपोर्ट रोक्का गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले असोज ३ गते नयाँ पासपोर्ट (राहदानी) बनाएको र पासपोर्टमा थाइल्यान्डको भिसा समेत लागिसकेको खुलासा भएको छ।

भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको निवास तोडफोड र आगजनीमा परेपछि, पुराना पासपोर्टहरू जलेको वा हराएको अनुमान गरिएको थियो। सुरक्षा कारण देखाएर वा उपचारका लागि विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क बनाएको थियो।

उच्च स्रोतका अनुसार, सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको सिआइबी र राहदानी विभागले देउवा दम्पतीको पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेको छ। राहदानी रोक्का गर्नका लागि सम्पत्ति शुद्धीकरण विभागले राहदानी विभागलाई पत्राचार गर्न सक्ने व्यवस्था ऐन २०७६ को दफा १२ मा उल्लेख छ।

केही दिनअघि, विभागको टोलीले देउवा निवासबाट मुचुल्का उठाएको थियो। त्यही क्रममा पैसा भेटिएको भिडिओहरू सार्वजनिक भएपछि थप प्रमाण संकलन गरिएको थियो। पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि प्रदर्शनकारीले पैसा फालिरहेको भिडिओ सार्वजनिक भएपछि त्यहाँ पनि मुचुल्का उठाइएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पती र खड्काको घरबाट संकलित प्रमाण नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) पठाएको छ। विभाग स्रोतका अनुसार, देउवा दम्पती र खड्काको घरमा जलेको ठूलो रकम भेटिएको भिडिओ र विवरण सार्वजनिक भइसकेको छ। विभागले स्थानीयसँग अनौपचारिक कुराकानी गरी थप प्रक्रिया अघि बढाएको छ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनीहरूसँग जोडिएका भ्रष्टाचार र अनियमितताको आरोप धेरै वर्षदेखि सार्वजनिक छन्। आरजु देउवा माथि सार्वजनिक पदमा नियुक्ति र राजकीय कामकारवाहीमा चलखेल, नक्कली शरणार्थी प्रकरण र गैरकानूनी सम्पत्ति आर्जनको आरोप लाग्दै आएको छ। पूर्व उर्जामन्त्री दीपक खड्कामाथि पदको दुरुपयोग र स्वार्थ जोडिएको काम गरेको आरोप छन्।

जेनजी आन्दोलनपछि बुढानीलकण्ठ, हरिहरभवन, बालकोट लगायतका स्थानमा आगजनी हुँदा सार्वजनिक भएका प्रमाणका आधारमा विभागले उनीहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढाएको छ।

नेपालको राहदानी ऐन २०७६ अन्तर्गत, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागु औषध, हातहतियार कारोबार, संगठित अपराध वा आतंकवादसँग सम्बन्धित आरोपमा अनुसन्धान भइरहेको भए राहदानी जारी नगर्ने वा रोक्का गर्न सकिने व्यवस्था छ।

सरकारको तयारी अनुसार, देउवा, आरजु र दीपक खड्कासहित केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राहदानी रोक्का गर्ने आधार प्रमाणसहितको पत्र अध्यागमन विभागमा पुगेपछि मात्र आधिकारिक प्रक्रिया अघि बढ्नेछ।

जेनजी आन्दोलनको दमनमा संलग्न, भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका नेताहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले पासपोर्ट रोक्का गरिने तयारी गरिएको हो। सरकारले प्रक्रिया अघि बढाउने क्रममा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसँग परामर्श पनि गरेको छ।

यससँगै, सरकारले आवश्यक सुरक्षा निगरानी र कानूनी प्रक्रिया पूरा गरेर शीर्ष नेताहरूलाई नियन्त्रणमा राख्ने तयारी अघि बढाएको उच्च स्रोतले जनाएको छ। जेनजी आन्दोलन, आगजनी र सम्पत्ति शुद्धीकरण अनुसन्धानको पृष्ठभूमिमा सुरु गरिएका यो कदम, राजनीतिक सुरक्षा, कानूनी प्रक्रिया र भ्रष्टाचार अनुसन्धानलाई जोड्दै अघि बढिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट