इटहरीमा श्रीमतीको हत्या आरोपमा पक्राउ परेका दाहाल सामुदायिक विद्यालयका प्रधानाध्यापक
इटहरी — सुनसरीको इटहरी उपमहानगरपालिका–२०, खनारस्थित निवासमा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका ३० वर्षीय सुमन दाहाल सामुदायिक विद्यालयका प्रधानाध्यापक रहेको खुलासा भएको छ।
उनी खोटाङको ऐँसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन। दाहालले मंगलबार राति आफ्नी २५ वर्षीया पत्नी अनिशा भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाक्रम घरेलु विवादबाट सुरु भएको थियो। राति करिब ८ बजे विवाद चर्किँदा दाहालले काठको बटम प्रहार गर्दा अनिशा गम्भीर घाइते भएकी थिइन्। प्रहरीको सहयोगमा उनलाई तत्काल विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो।
तर उपचारका क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए। घटनापछि दाहाललाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेले प्रारम्भिक अनुसन्धानमा श्रीमान–श्रीमतीबीचको झगडाका कारण घटना भएको देखिएको बताए। उनका अनुसार, ‘अभियुक्तलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालिएको छ। घटनाको पृष्ठभूमि र वास्तविक कारण पत्ता लगाउने कार्य भइरहेको छ।’
मृतक अनिशा भट्टराई खोटाङकै मयुर आवासीय विद्यालय, सानोडुम्रे (महेश्वरी) की पूर्व शिक्षक हुन। हाल इटहरीमा बस्दै उनी शिक्षक सेवा आयोगको तयारी गरिरहेकी थिइन्।

