त्रियुगा नदीको बाढीले सप्तकोशी डुबायो

राजविराज — लगातारको भीषण वर्षापछि त्रियुगा नदीमा आएको बाढी सप्तरीको सप्तकोशी नगरपालिकामा पस्दा बस्ती नै जलमग्न भएको छ। नदी ओभरफ्लो भएपछि नगरपालिकाको वडा नम्बर–६ बोचही गाउँका अधिकांश घर डुबानमा परेका छन्। अन्य वडाका ५० भन्दा बढी घर पनि डुवानमा परेको जनाईएको छ।
बाढीका कारण बोचही टोलका ६ परिवारको घर भत्किँदा उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। सीडीओ टुवराज पोखरेलका अनुसार विस्थापित परिवारलाई तत्कालका लागि राष्ट्रिय आधारभूत विद्यालय बोचहीमा राखिएको छ।
‘डुबानमा परेका अन्य परिवारहरूको अवस्थाबारे विवरण संकलन भइरहेको छ,’ सीडीओ पोखरेलले भने, ‘घर भत्किएकाहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ।’ उनका अनुसार उद्धारका लागि प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरूको टोली खटिएको छ।
सप्तकोशी नगरपालिकाका–२, ३ र ४ का बस्तीहरू पनि बाढीले डुबानमा पारेको नगरपालिकाले जनाएको छ। ५० भन्दा बढी घरमा पानी पसेको छ। बाढीबाट प्रभावित परिवारको उद्धार र स्थानान्तरण सुरक्षाकर्मीको सहयोगमा भइरहेको छ।
त्रियुगा नदी पहाडबाट बग्दै आउने भएकाले डुवानको खतरा अझै वढि छ। नदिको मुहान उदयपुरको पहाडि क्षेत्र र तराईमा पनि वर्षा भईरहेका कारण वाढि वढ्न सक्ने अनुमान गरिएको छ। रातभर वर्षा जारी रहेमा अन्य तटीय बस्तीहरू पनि प्रभावित हुन सक्ने प्रशासनले चेतावनी दिइएको छ।
स्थानीयले तत्काल राहत, सुरक्षित बास र खानेपानीको व्यवस्था गर्न माग गरेका छन्। प्रशासनले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन र उच्च स्थानतर्फ सर्ने आग्रह गरेको छ।